काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बहादुर वैदेवार क्षेत्री प्राकृतिक जोखिमबाट हुने क्षतिको रक्षावरण बीमा कम्पनीहरुले गर्ने बताएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका बैदेवारले नेपाल प्राकृतिक जोखिम भुमरीमा रहेको र त्यसबाट हुने क्षतिको जोखिम धारण बीमा कम्पनीहरुले गर्ने बनाए ।
नेपाल बीमा प्राधिकरणको ५७औँ वार्षिकोत्सव कार्याक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार नेपाल विशेषगरी भुकम्पको दृष्टिकोणले र जलवायु परिवर्तनका कारण बाढी पहिरोको दृष्टिकोणले जोखिमा रहेको छ । बर्षेनी बाढी पहिरोबाट अर्बाैँकाे धन सम्पत्तिको क्षति हुने गरेको छ ।
सरकारले यसरी हुने क्षति वापत पीडितलाई हरेक वर्ष क्षतिपूर्तिका लागि ठुलो रकम वितरण गर्दै आएको छ । तर, यस्तो रकम सरकारले भन्दा पनि बीमा कम्पनीहरुले ब्यहोर्नुपर्ने उनको भनाई छ । त्यसका लागि सबैले आफ्नो धन सम्पत्तिको बीमा गर्नुपर्ने र सरकारले त्यसमा सहयोग गर्नुपर्ने उनको धारणा थियो ।
यसैगरी, सरकारी पूर्वाधारको पनि हलसम्म बीमा भएको छैन। सरकारी पूर्वधारको पनि बीमा गरिनुपर्ने उनले बताए । बीमा प्राधिकरणको स्थापना भएको ५७ वर्ष पुरा भएकाले नेपालको बीमा इतिहास धेरै अघिबाट सुरु भएको भएतापनि त्यस अनुसार दायरा भने विस्तार हुन नसकेको उनको भनाई छ । उनले भने, 'हाल ४४ प्रतिशत जनसंख्यामा मात्र बीमाको पहुँच पुगेको छ, अर्थात् आधा जनसंख्या बीमाको दायरा बाहिर छन् ।’
दायरा विस्तारका लागि जनचेतना फैलाउनु पर्नेमा उनले जोड दिए ।