शीर्षकहरू

दश महिनामा आयो ५७ अर्ब विदेशी लगानी प्रतिबद्धता, सेवा र पर्यटन क्षेत्रमा आकर्षण, अन्य कुन क्षेत्रमा कति ?

दश महिनामा आयो ५७ अर्ब विदेशी लगानी प्रतिबद्धता, सेवा र पर्यटन क्षेत्रमा आकर्षण, अन्य कुन क्षेत्रमा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालले ५७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेकोे छ । विदेशी लगानीकर्ताले साउनदेखि वैशाखसम्म विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ५३ अर्ब ७० करोड तथा स्वचालित प्रणालीबाट ३ अर्ब ३६ करोड गरी कुल ५७ अर्ब ६ करोड ७६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् । उद्योग विभागका अनुसार ५७६ उद्योगका लागि यो लगानी प्रतिबद्धता प्राप्त भएको हो । 

विभागका अनुसार प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट १० महिनामा २९४ उद्योगका लागि ५३ अर्ब ७० करोड २४ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो । त्यस्तै, यस अवधिमा स्वचालित प्रणालीबाट २८२ उद्योगका लागि ३ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । 

चालु आवको १० महिनाको अवधिमा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि १ अर्ब ९४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएकोे छ । यस्तै, ५१ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ ।

उद्योग विभागका अनुसार यस अवधिमा ५६२ वटा साना उद्योग, १० वटा मध्यम र ४ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । १० महिनामा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप १४ हजार ७१९ जनाले रोजगारी पाउनेछन्।

विभागका अनुसार यस अवधिमा रकमको हिसाबमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता भने सेवा क्षेत्रमा प्राप्त भएको छ । यसले विदेशी लगानीकर्ताहरु नेपालको सेवामुलक क्षेत्रमा लगानी गर्न धेरै आकर्षित रहेको बुझिन्छ । चालु आवको १० महिनामा आएको कुल लगानी प्रतिबद्धतामध्ये सेवा क्षेत्रमा २९ अर्ब ९८ करोड ७७  लाख प्राप्त भएको छ । यो क्षेत्रका ६६ वटा उद्योगका लागि यो प्रतिबद्धता आएको हो । यस्तै पर्यटन क्षेत्रका २२३ वटा उद्योगहरुका लागि २१ अर्ब ३३ करोड ७५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । 

यस्तै, उत्पादनमुलुक क्षेत्रका ३९ उद्योगका लागि २ अर्ब ९२ करोड २० लाख, सूचना प्रविधि क्षेत्रका २३५ वटा उद्योगका लागि १ अर्ब ३१ करोड ८८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार उर्जा क्षेत्रमा २५ करोड ५० लाख, कृषिमा १ अर्ब ४२ करोड तथा पूर्वाधार क्षेत्रका उद्योगमा ५ करोड बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको छ । 

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वैदेशिक लगानीकर्ताले लाभांश बापत ९ अर्ब ४९ करोड ९६ लाख ९५ हजार रुपैयाँ बराबर फिर्ता लगेका छन् । त्यस्तै विभागका अनुसार यसअवधिमा १ अर्ब ५१ करोड ८५ लाख नेपाली रुपैयाँ, ९३ लाख २४ हजार अमेरिकन डलर, ४६ करोड ६५ लाख भारतीय रुपैयाँ तथा ६१ हजार ४३१ युरो रोयल्टीबापत फिर्ता लगेका छन् ।

null