काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ ।
समितिमा बाँकी रहेका कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउने सहमति भएसँगै समितिवाट बिधेयक पारित भएको हो । जसअनुसार अब निजामती कर्मचारीको उमेर हद ६० वर्ष हुनेछ ।
उता, कर्मचारीको ‘कुलिङ पिरियड’ दुई वर्ष राख्ने बिषयमा पनि समितिमा सहमति जुटेको छ भने निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ।
निजामती सेवा विधेयक २०८० फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि २०८१ जेठ १५ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।
सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा सांसदहरूले १२४ समूहमा एक हजार ५८३ वटा संशोधन हाल्नुभएको थियो । संशोधन प्रस्तावसमेतलाई एकैठाउँमा राखेर दफावार छलफल गरी संसदीय समितिले विधेयक पारित गरेको हो ।