शीर्षकहरू

घरजग्गाको कारोबारसँगै कित्ताकाट पनि बढ्यो, वैशाखमा साढे ४ अर्ब राजस्व संकलन

घरजग्गाको कारोबारसँगै कित्ताकाट पनि बढ्यो, वैशाखमा साढे ४ अर्ब राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा घरजग्गाको कारोबारमा सुधार देखिएको छ । गत आवको सोही अवधिको तुलनामा वैशाख महिनामा घरजग्गाको कारोबार, कित्ताकाट र त्यसबाट संकलन हुने राजस्व पनि वृद्धि भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । 

विभागका अनुसार चालु आवको वैशाखमा राजस्व १७.५६ प्रतिशतले वृद्धि भएको छ । यस महिनामा कुल ४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको वैशाख महिनामा ३ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । 

चालु आवको वैशाखमा घरजग्गा सम्बन्धी १ लाख ४४ हजार ६० वटा कारोबार भएको छ । जसमध्ये ५२ हजार ४२३ वटा लिखत पारित भएको छ । गत आवको वैशाखमा १ लाख ४१ हजार ७८२ वटा कारोबार हुँदा ४९ हजार ७८२ पटक लिखत पारित भएको विभागको तथ्यांकले देखाउँछ । 

चालु आवको वैशाखमा ५६ हजार ६८१ कित्ता जग्गा टुक्र्याएर १ लाख २८ हजार ४८७ वटा कित्तामा विभाजन गरिएको छ । गत आवको वैशाखमा ५७ हजार ७१९ वटा कित्तालाई १ लाख ३० हजार ६३२ वटा टुक्रा गरिएका थियो ।