शीर्षकहरू

चिकित्सा शिक्षाको सिट संख्या नथप्दा अर्बौ रकम विदेश गयो : पूर्वमन्त्री धनराज गुरुङ

चिकित्सा शिक्षाको सिट संख्या नथप्दा अर्बौ रकम विदेश गयो : पूर्वमन्त्री धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानूनमन्त्री धनराज गुरुङले नेपालको मेडिकल शिक्षा विस्तार हुन नसक्दा वर्षेनी अर्बौ रकम विदेशिएको बताएका छन । 

शुक्रबार प्रतिनिधि सभामा बजेटका प्राथमिकताबारे छलफलमा भाग लिँदै सांसद गुरुङले नेपालका मिडिकल शिक्षण संस्थाहरुको विद्यार्थी पढाउने क्षमता हुँदा हुदै पनि सिट संख्याको अभावमा नेपाली विद्यार्थी विदेशीन बाध्य भइरहेको बताए । डा गोविन्द केसीको अनसन प्रति इंगित गर्दै गिरोहका कारण नेपालको मेडिकल शिक्षाको विकास र विस्तार हुन नपाएको समेत बताए ।

गुरुङले नेपालमा मेडिकल कलेजलाई सम्बन्धन दिनै हुँदैन, भइरहेका कलेजमा विद्यार्र्थी सिट संख्या थप्नै हुँदैन भन्नेर विदेशीबाट पालिएको व्यक्ति हुन् कि भन्ने आशंका आफूलाई भएको बताए ।

उनले भने, ‘नेपाललाई एजुकेशन हब बनाउन सकिन्थ्यो । तर,  हामीले नेपाली विद्यार्थीलाई विदेश पठाउने अवस्थामा पुर्यायौं । अर्बौ लगानी गरेर खोलेका मेडिकल कलेजले सम्बन्धन पाउँदैनन । अर्कोतिर खर्ब रुपैयाँ विदेश पढाउने नाममा गइरहेको छ । कहिले यस्तो लाग्छ मलाई नेपालमा मेडिकल कलेज खोल्न दिन हुन्न, सिट बढाउन हुँदैन, सम्बन्धन नै दिन हुन्न भन्नेहरु माफ गर्नुहोला विदेशीहरुको केही खजाना खाएकाहरु हुन् कि भन्ने आशंका लाग्छ ।’

सांसद गुरुङले नेपालमै सम्बन्धन दिएर विदेशी समेत पढ्न आउने वातावरण बनाउन सक्दा पर्यटनमा समेत टेवा पुग्ने बताए ।

त्यस्तै, गत बैशाख ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकबाट १० दिनभित्र नेपालका मेडिकल शिक्षामा कोटा निर्धाराण् राय सुझाव पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको थियोे । तर, हालसम्म पनि कुनै पनि राय पेश भएको छैन । 

एक मेडिकल व्यवसायीका अनुसार नेपालमा केहि वर्षपहिलासम्म १५० जना विद्यार्थी एक मेडिकल कलेजले पढाउन पाइरहेकोमा हाल १०० जनामा सिमित गरेको बताए । उनले भने, नेपालमा ३०० जनासम्म पढाउने क्षमता भएका मेडिकल कलेजहरुको पूर्वाधार छ र साथमा देशभरीका मेडिकल कलेजमा पाँच हजार विदेशी विद्यार्थी पढाउन सकिएमा अर्बौ विदेशी रकम ल्याउन सकिने अबस्था हुँदा हुँदै हाल अर्बौ रकम विदेशी रहेको छ । यो देशका शासकले ध्यान दिन पर्ने हो । ’