काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप ४३ खर्ब नाघेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुमा सर्वसाधारणको निक्षेप ४३ खर्ब १७ अर्ब ५२ करोड ९ लाख रुपैयाँ पुगेको छ । चालु आवको ९ महिना अवधिमा सर्वसाधारणको निक्षेप ६.९ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप ४० खर्ब ३९ अर्ब ८७ करोड ४९ रुपैयाँ थियो ।
पछिल्लो ९ महिनामा सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाहरुमा २ खर्ब ७७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ थप रकम जम्मा गरेका छन् । चैत मसान्तमा बैंक–वित्तीय संस्थाहरुको कुल निक्षेपमा सर्वसाधारण अर्थात व्यक्तिगत निक्षेपको हिस्सा झण्डै ६३ प्रतिशत रहेको छ भने संस्थागत निक्षेपको अंश साढे ३५.४ प्रतिशत छ । बाँकी अन्य प्रकारको निक्षेप छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६८ खर्ब ६० अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । यसमा वैदेशिक मुद्राको निक्षेप, गैह्रबैंक तथा वित्तीय संस्थाको निक्षेप, सरकारी संस्थान, गैरसरकारी संस्थान, अन्तर बैंक निक्षेप, व्यक्तिगत र विविध निक्षेप रहेका छन् । ९ महिनाको अवधिमा कुल निक्षेप ५.६ प्रतिशत अर्थात ३ खर्ब ६५ अर्ब ८६ करोड ५६ लाख रुपैयाँले बढेको हो । गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६४ खर्ब ९४ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ रहेको थियो।
चालु आवको ९ महिनामा गैर बैंक तथा वित्तिय संस्थाको निक्षेप ७३ अर्ब ८१ करोड रुपैयाँ थपिएर १२ खर्ब ७० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, गैर आवासीय निक्षेप २ अर्ब ४७ करोड रुपैयाँ थपिएर ७६ अर्ब २२ करोड १९ लाख रुपैयाँ पुगेको छ । यस्तो निक्षेप ६.२ प्रतिशतले बढेको हो । जसमध्येमा बीमा कम्पनीको निक्षेप ४९ अर्ब ७३ करोड रुपैयाँ थपिएर ६ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । बीमा कम्पनीहरुको निक्षेप ८.३ प्रतिशतले बढेको हो ।
यस्तै कर्मचारी संचय कोषको निक्षेप १ खर्ब ८४ अर्ब १३ करोड रहेको छ । कर्मचारी संचय कोषको निक्षेप भने १.७ प्रतिशतले घटेको छ । नागरिक लगानीकोषको निक्षेप १२.५ प्रतिशतले बढेर १ खर्ब ३९ अर्ब ९८ करोड ४८ लाख पुगेको छ । यस अवधिमा अन्य निक्षेप ४.१ प्रतिशतले बढेर २ खर्ब ९५ अर्ब ५१ करोड ७८ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, गैर आवासीय वैदेशिक मुद्राको निक्षेप १.१ प्रतिशतले बढेर २० अर्ब ४१ करोड पुगेको छ भने आवासीय वैदेशिक मुद्राको निक्षेप ३९.७ प्रतिशतले बढेर १ खर्ब ३२ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा सरकारी संस्थानहरुको निक्षेप भने ४ प्रतिशतले बढ्दा गैर सरकारी संस्थानको निक्षेप ४.७ प्रतिशतले घटेकोे छ । गत चैत मसान्तसम्ममा बैंकहरुमा सरकारी संस्थानहरुको निक्षेप ३ खर्ब ४६ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । यस्तै, गैर सरकारी संस्थानको निक्षेप ३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
यस्तै, चालु आर्थिक वर्षको ९ महिनामा अन्तरबैंक निक्षेप ६.१ प्रतिशतले घटेकोे छ । यस्तो निक्षेप ३९ अर्ब ९५ करोड रहेको छ । त्यसैगरी, समीक्षा अवधिमा गैर नाफामुखी संस्थाहरुको निक्षेप पनि ७ प्रतिशतले घटेर १ खर्ब ८४ अर्ब ६३ करोड रुपैयाँ कायम भएको छ । यस अवधिमा अन्य प्रकृतिको निक्षेप पनि ३.१ प्रतिशतले घटेको छ । यस्तो निक्षेप ९१ अर्ब ४० करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.७ प्रतिशत, ३५.८ प्रतिशत र ५१.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.९ प्रतिशत रहेको थियो।
बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिए अनुपातमा कर्जा विस्तार हुन सकेको छैन। कर्जा नगएपछि यतिबेला प्रणालीमा पैसा थुप्रिएर बसेको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले दैनिकजसो अल्पकालिन अवधिमा लागि तरलता प्रशोचन गर्दै आइरहेको छ । विगत केही वर्षदेखि आर्थिक गतिविधिमा सुस्तता आएपछि बैंकहरूमा कर्जाको माग बढ्न सकेको थिएन । पछिल्लो समयमा भने कर्जाको मागमा विस्तारै सुधार आउन थालेको छ ।
चालु आर्थिक वर्षमा आर्थिक गतिविधिमा सुधार आएसँगै कर्जा वृद्धिदरमा सुधार आएको हो । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रका सबै क्षेत्र सकारात्मक छन् । त्यसका साथै अर्थतन्त्रका वाह्य क्षेत्रमा पनि उल्लेख्य सुधार रहेको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो समयमा आयात बढेकाले पनि कर्जा वृद्धिदरमा सुधार आएको हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले थप ३ खर्ब ६१ अर्ब ३ करोड कर्जा विस्तार गरेका छन् । त्यस्तै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.६ प्रतिशतले बढेको छ ।