काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद नपरेका आवेदकहरुको रकम आज आइतबारदेखि फिर्ता गरिदिने भएको छ । आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आइपीएस मार्फत रकम ट्रान्सफर गरिदिने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । जसमध्ये प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँ दरको ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद शेयरमा उक्त अवधिमा आवेदन परेको थिएन् । सो अवितरित हकप्रद शेयरहरु वैशाख १२ गते देखि २१ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरिद आव्हान गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु बैशाख २६ गते बाँडफाँड भएको थियो ।
सोही बाँडफाँडमा शेयर नपरेका आवेदकहरुलाई रकम फिर्ता गरिएको कम्पनीले जनाएको छ । साथै आफ्नो बैंक खातामा रकम जम्मा नभएको खण्डमा विक्री प्रबन्धकको कार्यालयमा सम्पर्क राख्न पनि आग्रह गरिएको छ ।
यस्तै, सर्वसाधारण तर्फ बाँडफाँडको कटअफ मूल्य ६९७.७८ रुपैयाँ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको पनि बिक्री प्रबन्धकले जानकारी दिएको छ । नतिजा बिक्री प्रबन्धकको वेबसाइटमा हेर्न पनि सकिने छ ।