काठमाडौं । एसटीसी ग्रुप अन्तर्गतको एसटीसी इनर्जी इन्डस्ट्रिजले नेपालमै ब्याट्री उत्पादन सुरु गरेको छ । हेटौंडाको औद्योगिक क्षेत्रमा करिब २१ रोपनी जग्गा भाडामा लिएर कम्पनीले ब्याट्री उत्पादन प्लान्ट स्थापना गरेको हो । ५० कराेडकाे लगानीमा स्थापना भएकाे सो प्लान्टबाट विगत एक वर्षदेखि ब्याट्री उत्पादन भइरहेकाे एसटीसी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले बताए ।
प्रबन्ध निर्देशक उप्रेतीका अनुसार प्लान्टसँग वार्षिक १८ लाख वटा ब्याट्री उत्पादन गर्न सक्ने क्षमता छ । अहिले भने वार्षिक ४ लाखको हाराहारीमा ब्याट्री उत्पादन भइरहेको उनले भने । ‘प्लान्टको क्षमता अनुसार विस्तारै उत्पादन वृद्धि गर्दै लैजाने छौ,’ उनले भने ।
हाल नेपालमा दुई पाङ्गे देखि ठुला गाडीहरुमा प्रयोग हुने ब्याट्रीको माग उच्च छ । नेपालमा वर्षेनी करिब १२ अर्ब बढीको ब्याट्री आयात हुने गरेको सरकारी तथ्यांक छ । अर्थात् नेपालमा दुई पांग्रे देखि ठुला-ठुला गाडीमा लाग्ने ब्याट्रीको बजार बढ्दै गएको छ । बजारमा व्याट्रीको माग बढ्दै गएपछि थालेपछि एसटीसी कम्पनीले पनि यसको उत्पादन सुरु गरेको हो ।
कम्पनीले हाल दुई पांग्रे सवारीको लागि प्रयोग हुने ब्याट्री महिनामा ३० हजार वटा उत्पादन र बिक्री गर्दै आइरहेको छ । तीन पांग्रे र अन्य ठुला गाडीहरुमा प्रयोग हुने ब्याट्री ५० हजार वटा उत्पादन र बिक्री भएको कम्पनीले जनाएको छ । यसरी उत्पादन भएका ब्याट्री इनर्जी र राईड गरेर दुई ब्राण्डमा बजार पठाउने गरेको कम्पनीले जनाएको छ ।
८० प्रतिशत नेपाली कच्चा पदार्थको प्रयोग
एसटीसी ग्रुप अन्तर्गतको एसटीसी इनर्जी इन्डस्ट्रिजले ब्याट्री उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थमध्ये ८० प्रतिशत नेपालकै प्रयोग गर्दै आएको छ । बाँकी २० प्रतिशत मात्रै विदेशबाट आयात गरिएको प्रबन्ध निर्देशक उप्रेतीले जानकारी दिए । ‘लिड एसिड र ब्याट्री प्याक गर्ने कन्टेनर विदेशबाट आयात हुन्छ भने अन्य प्राय कच्चा पदार्थ नेपाली नै प्रयोग गर्छौ,’ उनले भने ।
तर, विदेशबाट कच्चा पदार्थ आयातको गर्दा सरकारी निकायमा धेरै सास्ती भोग्नु परेको प्रबन्ध निर्देशक उप्रेतीले गुनासो गरे । विशेषगरी एसिड आयात गर्दा धेरै सास्ती भोग्नु परेको उनले सुनाए । ‘एसिड आयात गर्दा गृह मन्त्रालय, भन्सार विभाग र उद्योग विभागबाट स्वीकृति लिनुपर्छ । स्वीकृति लिन जाँदा एउटाले अर्को निकायलाई देखाएर पन्छिन खोज्ने प्रवृति छ,’ उनले भने ‘ गृहसँग अनुमति लिन जाँदा उद्योग र भन्सार विभागको स्वीकृति माग्छ । भन्सार विभागमा गयो उद्योग र गृह मन्त्रालयको स्वीकृति माग्छ । फेरी उद्योग विभागमा गयो गृह मन्त्रालय र भन्सार विभागको अनुमति माग्छ ।’ सरकारको झन्झटिलो प्रक्रियाले व्यवसायीले हैरानी व्यहोर्नु परेको छ ।
यस्ता सरकारी प्रक्रियाले व्यवसायी निरत्साहीत हुने गरेको उनले सुनाए । ‘नेपालमा उद्योग व्यवसाय गर्न चाहनेलाई सरकारी संयन्त्रले नै निराश बनाउछ । सरकारी निकायबीच समन्वय नहुँदाको आम नागरिकले सास्ती भोग्नु परेको छ,’ उनले भने ।
आयातित भन्दा सस्तो र गुणस्तरिय
विदेशबाट आयात हुने भन्दा नेपालमै उत्पादन ब्याट्रीहरु बढी सस्तो र बलियो हुन्छ । बजारमा पाइने अन्य विभिन्न ब्रान्डका ब्याट्रीको तुलनामा ईनर्जी र राईड ब्रान्डका ब्याट्रीहरु ४० प्रतिशतसम्म सस्तो भएको कम्पनी प्रबन्ध निर्देशक उप्रेतीले दाबी गरे ।
अन्य आयातित ब्याट्रीको तुलनामा राईड र ईन्र्जी ब्याट्रीमा ग्यारेन्टी अवधि पनि धेरै छ । अन्य कम्पनीहरुको ब्याट्रीमा अधिकतम १ वर्षसम्मको ग्यारेन्टी छ भने राईड र ईनर्जी ब्याट्रीमा ५ वर्षसम्मको ग्यारेन्टी भएको उनले प्रस्ट्याए ।
कम्पनीका अनुसार इ रिक्साको ब्याट्रीमा १२ महिना, दुई पांग्रे र चार पांग्रेको ब्याट्रीमा ३६ महिना र इन्भर्टरको ब्याट्रीमा ६० महिनाको ग्यारेन्टी छ । यदि उपभोक्ताले खरिद गरेको ब्याट्रीमा समस्या आएमा कम्पनीले एक्सचेन्ज समते गर्ने उनले बताए ।
कम्पनीका अनुसार ब्याट्री उत्पादनका लागि चाइनाकाे टेक्नोलोजी प्रयोग भएको छ । यसैगरी, भारत, चिन र जापानका विश्वस्तरिय मेसिनहरू उक्त प्लन्टमा प्रयाेग भएका छन् ।
उत्पादनको हरेक चरणमा परिक्षण गरिन्छ । ब्याट्री पूर्ण रुपमा बनेपछि माइनस १८ डिग्री सेल्सीयस चिसोमा राखेर परिक्षण गरिन्छ । फेरि सोही ब्याट्रीलाई ५५ डिग्री सेल्सीयस तातोमा राखेर परिक्षण गरिन्छ । यसरी अधिकतम चिसो र अधिकतम तातोमा राखेर परिक्षण गरेपछि मात्रै व्याट्री बजारमा पठाइने कम्पनीका प्रबन्ध निर्देशक उप्रेतीले बताए ।
निर्यातको तयारी
एसटीसी इनर्जी इन्डस्ट्रिले नेपालमा उत्पादन गरेको ब्याट्री भारतमा पनि निर्यात गर्ने तयारी गरेको छ । भारत निर्यात गर्दा कम्पनीले पठाउँन लागेको ब्याट्री बराबर त्यहाँको पोलुसन कन्ट्रोल डिमार्टमेन्टमा डिपोजिट गर्नुपर्छ । डिपोजिट गर्दा एजेन्ट बनाउनुपर्छ । त्यसपछि पोलुसन कन्ट्रोल डिपार्टमेन्टले सर्टिफिकेशन दिएपछि बल्ल निर्यात गर्न सकिने व्यवस्था छ ।
भारत निर्यातको लागि कम्पनीले दिल्लीमा एजेन्ट पनि बनाइसकेको छ । सर्टिफिकेशन लिने क्रममा रहेको कम्पनीले जनाएको छ । यसैगरी, कम्पनीले ब्यूरो अफ इन्डियन स्ट्याण्र्डर्ड (बीआईएस) बाट स्वीकृति पनि लिने प्रक्रिया भएको जनाएको छ । यी प्रक्रिया पुरा गरेपछि निर्यात गर्न सकिने छ ।
कम्पनीका अनुसार भारतीय बजारमा एसटीसी ब्याट्रीको माग उच्च छ । भारतीय ई रिक्सा उत्पादन कम्पनीहरुबाट धेरै माग आइरहेको छ । माग भै आएका कम्पनीमा नमूना ब्याट्री समेत पठाइ सकिएको कम्पनीले जनाएको छ ।