शीर्षकहरू

हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

मुस्ताङ ।  पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ । सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायाङ्कन गरिन लागिएको हो ।

हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठूलो जम्बो टोली यहाँ आइपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बताइएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म ‘टासी’ निर्माण गर्न लागेको हो ।

नेपालका विभिन्न जिल्लामा छायाङ्कन गर्ने योजना बनाइरहेको सो फिल्मको युनिट यतिबेलामा भने छायाङ्कनका लागि यहाँ आइपुगेको छायाङ्कन स्थल सहजकर्ता पाल्गेन गुरुङले जानकारी दिए । उनका अनुसार उक्त फिल्मका लागि करिब ३०० भन्दाबढी जनशक्तिसहित ८० बढी कार तथा भ्यान, साना ठूला सामान बोक्ने ट्रक ५० भन्दाबढी र शौचालय, बाथरुम, भान्सा तथा सुत्नेसमेतको व्यवस्था भएका १० भन्दा बढी सवारी साधन मुस्ताङ भित्रिएका छन् ।

उक्त टोली यहाँ आएपछि जोमसोम र पुथाङ विमानस्थलका करिब दुई दर्जन होटल एक महिनाका लागि अग्रिम बुकिङ भइसकेको गुरुङले जानकारी दिए । घरपझोङ गाउँपालिका–५ को कुछ्प तेरङ्गा गुम्बा र घरपझोङ–१ को लक्कीमा सो फिल्मको छायाङ्कन हुने सहजकर्ता गुरुङले उल्लेख गरे । 

यसैगरी थासाङ गाउँपालिकाको बोक्सी खोला र बारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान तथा लुप्रा पासमा फिल्मको छायाङ्कन गर्ने योजना रहेको गुरुङको भनाइ छ । 

सगरमाथा आरोही शेर्पाको हिमाल आरोहरण, हिमाली सभ्यता, यहाँको जैविक विविधतालगायत परिदृष्य फिल्ममा समेटिने बताइएको छ । मुस्ताङमा यो फिल्म छायाङ्कनका लागि वेडनेस आउटडोर कम्पनीले सम्बन्धित यहाँका स्थानीय तहलाई ‘लोकेशन’ छायाङ्कनका लागि एक हप्ताअघि राजस्व शुल्कसमेत बुझाइसकेको छ ।