काठमाडौं । बीमा पोलिसी धितो राखी लिइने कर्जामा जीवन बीमा कम्पनीहरूले बीमितबाट चक्रवृद्धि ब्याज असुल्दै आएका छन् । आफ्नै पोलिसी धितो राखी लिइने कर्जामा समेत बीमकहरुले आफूखुसी ब्याज असुल गरी बीमितलाई शोषण गरिरहँदा पनि नियामक निकाय नेपाल बीमा प्राधिकरण भने बेखबर छ ।
बीमा ऐनले बीमितले आफूले खरिद गरेको बीमा पोलिसी धितोमा राखी कर्जा लिन सक्ने व्यवस्था गरेको छ । ऐन अनुसार बीमितले बीमा गरेको तीन वर्ष पुगेपछि आफ्नै पोलिसी धितोमा राखी कर्जा लिन सक्छन् । तर, कर्जामा लाग्ने ब्याजको निर्धारण भने कम्पनीको सञ्चालक समितिले निर्धारण गर्न सक्ने व्यवस्था छ । यसको फाइदा उठाउँदै बीमा कम्पनीहरूले बीमितहरुबाट चक्रवृद्धि ब्याज असुल्दै आएको नेपाल पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले बताए । ‘बीमितले ६ महिनासम्म ब्याज भुक्तानी नगरेमा, बीमा कम्पनीले सो ब्याजलाई सावामा परिवर्तन गर्छन् । चक्रवृद्धि ब्याजका कारण चार/पाँच वर्षमा नै सावा रकम नै दोब्बर हुन्छ,’ उनले भने ।
बीमितले ६ महिनासम्ममा ब्याज भुक्तानी नगरेमा बीमा कम्पनीहरुले सावामा रुपान्तरण गर्ने गरेको हिमालयन जीवन बीमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले बताए । ‘अन्य वित्तीय संस्थामा पनि ब्याजलाई सावामा रुपान्तरण गर्ने अभ्यास छ । हामीले पनि ६ महिनामा ब्याजलाई सावामा रुपान्तरण गर्छौ,’ उनले भने ।
चक्रवृद्धि ब्याज कै कारण धेरै बीमा पोलिसीहरु सरेण्डर हुने गरेको संघका अध्यक्ष केदारनाथ अधिकारीले बताए । ‘पैसाको समस्या परेपछि नै बीमितले कर्जा लिने हो । कर्जा लिदा अधिकांश बीमितले यस्ता कुराको ख्याल नै राख्दैनन । जब ब्याज पनि सावामा जोडिँदै जान्छ तब मात्रै बीमितको चेत खुल्छ । दुई चार वर्षमा नै कर्जा रकम दोब्बर हुन्छ,’ उनले भने ‘साधारण बीमितलाई अब पोलिसी सरेण्डर गर्नुको कुनै विकल्प हुँदैन । दोब्बर भएको सावा र ब्याज भुक्तानी गर्नु भन्दा पोलिसी सरेण्डर गर्नु नै बीमितको लागि सहज हुन्छ ।’
धेरैजसो बीमितलाई चक्रवृद्धि ब्याजको विषयमा जानकारी नभएको संघका महासचिव केसीले बताए । कर्जा लिनेमध्ये ५ प्रतिशत बीमितलाई मात्रै यस विषयमा जानकारी हुन्छ । ‘बीमितलाई पैसाको खाचो परेको हुन्छ । कर्जा कतिसम्म पाउन सकिन्छ भन्ने मात्रै ध्याउन्न हुन्छ । यस्तो अवस्थामा कम्पनीका कर्मचारीले राम्रोसँग जानकारी पनि दिदैनन्,’ उनले भने । कम्पनीले पोलिसी जफत गर्ने बेला मात्रै बीमितको चेत खुल्छ ।
चक्रवृद्धि ब्याज लिने प्रक्रियालाई फेरबदल गर्न सकिने सानिमा रिलायन्स इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बताए । ‘कम्पनीहरूले पहिला देखि नै यसरी नै ब्याज लिदै आएका छन् । यसका विरोधमा कतै छलफल भएको छैन । प्राधिकरण र कम्पनीले चाहेमा परिवर्तन गर्न सकिन्छ,’ उनले भने ।
कर्जाको ब्याजमा पनि कम्पनीको सिन्डिकेट, चर्को ब्याज असुल्दै बीमा कम्पनी
जीवन बीमा कम्पनीहरुले बीमा पोलिसी कर्जामा चर्को ब्याज असुल्दै आएको बीमितहरुले गुनासो गरेका छन् । समग्र बैकिङ क्षेत्रकै ब्याजदर ओरालो लागेको बेला बीमा कम्पनीहरुले पोलिसी कर्जामा लिने ब्याजदर भने टसमस भएको छैन ।
बीमा कम्पनीहरुले लगानी गरेका अन्य क्षेत्रको ब्याजदर भने तीन चार प्रतिशत छ । तर, पोलिसी कर्जामा बीमितबाट लिने कर्जाको ब्याज भने नघटेको संघका महासचिव केसीले गुनासो गरे । ‘कम्पनीहरु आफैले अन्य क्षेत्रमा गरेको लगानीको ब्याजदर घटेको छ । तर, पोलिसी कर्जाको ब्याजदर भने घट्दैन,’ उनले भने ।
पोलिसी कर्जाको ब्याजदर बीमा कम्पनी अनुसार फरक फरक छ । कम्पनीको सञ्चालक समितिले नै ब्याजदर निर्धारण गर्छ । तर, अन्य क्षेत्रमा ब्याजदर घटि रहँदा बीमा कम्पनीले बीमितबाट लिने ब्याजदर भने घटेको छैन । अहिले बीमा कम्पनीहरूले १० देखि १२ प्रतिशतसम्म ब्याज लिदै आएको संघका अध्यक्ष अधिकारीले बताए ।
बीमा कम्पनीहरुको दादागिरीमा प्राधिकरणले आँखा चिम्लिएको अध्यक्ष अधिकारीले गुनासो गरे । ‘बीमा कम्पनीहरुले बीमितहरुलाई शोषण गरेका छन् । यसमा प्राधिकरणले आँखा चिम्लिएको छ । थाहा पाएर पनि नपाए जस्तो गरेर बसेको छ,’ उनले भने ।
ब्याजदर निर्धारणको विषयमा प्राधिकरणलाई पटक पटक जानकारी गराइएको संघका महासचिव केसीले बताए । तर, अभिकर्ताको गुनासोलाई प्राधिकरणले बेवास्ता गरेको उनले दाबी गरे । ‘प्राधिकरणले बारम्बार बीमितको संरक्षण गर्ने भन्छ । तर, कार्यान्वयन भने शून्य छ,’ उनले भने ।
कम्पनीहरूले लिने गरेको चक्रवृद्धि ब्याजको विषयमा प्राधिकरण जानकार नरहेको प्राधिकरणका पोलिसी महाशाखा प्रमुख निर्देशक निर्मल अधिकारीले बताए । ‘चक्रवृद्धि ब्याजको विषयमा अहिलेसम्म प्राधिकरणमा कुनै गुनासो आएको छैन । आएको भए प्राधिकरणले छलफल गर्ने वातावरण हुन्थ्यो,’ उनले भने । त्यस्तै, कम्पनीहरूले लिदै आएको चर्को ब्याजदरका विषयमा पनि प्राधिकरणमा उजुरी परेको छैन । ‘सिद्धान्ततः अन्य क्षेत्रको ब्याजदर घट्दा बीमा कम्पनीहरूले पनि लिने ब्याजदर घट्नु पर्ने हो । तर, हामीलाई मर्का परेको छ भनेर कसैले भन्न आउनु भएको छैन,’ उनले भने ।
सानिमा रिलायन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पाण्डे भने बीमा कम्पनी र बैकले लिने ब्याजदरमा खासै ठूलो अन्तर नभएको बताउँछन् । ‘बैंकमा कर्जा लिन जाँदा विभिन्न शुल्क भुक्तानी गर्नुपर्छ, धितो राख्नुपर्छ । तर, बीमा कम्पनीमा एउटा निवेदन दिएको आधारमा कर्जा लिन सकिन्छ । कर्जा लिने प्रक्रियालाई हेर्ने हो भने अहिले ब्याज त्यति धेरै पनि हैन,’ उनले भने ।
बीमालेख धितोमा राखी कर्जा लिनको लागि बीमा पोलिसी खरिद गरेको तीन वर्ष पुगेको हुनुपर्नेछ । बीमा पोलिसीको सरेण्डर मूल्यको अधिकतम ९० प्रतिशतसम्म कर्जा प्रवाह गरिन्छ । सरेण्डर मूल्य कम्पनीले दिने बाेनशदरमा आधारित हुन्छ । त्यसैले कम्पनीको बाेनशदरको आधारमा कर्जा रकम पनि धेरै थोरै हुने गर्छ ।
सावा र ब्याज गरी सरेण्डर मूल्यको सतप्रतिशत पुगेको अवस्थामा कम्पनीले पोलिसी जफत गर्न सक्ने व्यवस्था छ ।
चालु आवको चैत महिनासम्ममा ९५ अर्ब पोलिसी कर्जा प्रवाह
चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा बीमा पोलिसी धितोमा राखी लिइने कर्जा ७ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीहरूले प्रकाशित गरेको चैत महिनासम्मको वित्तीय विवरण अनुसार बीमा पोलिसी धितो बापत ९५ अर्ब २ करोड रुपैयाँ प्रवाह भएको छ । गत आवको सोही अवधिमा भने ८८ अर्ब ५४ करोड रुपैयाँ थियो ।
बीमितहरुले खरिद गरेको बीमा पोलिसी नै धितोमा राखी लिइने कर्जालाई बीमा पोलिसी धितो कर्जा भनिन्छ । बीमितहरुले बीमा गरेको तीन वर्ष पुगेपछि यस्तो खालको कर्जा लिनको लागि योग्य हुन्छन् ।
समीक्षा अवधिमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा लेख धितो कर्जा धेरैले वृद्धि भएको छ । तथ्यांक अनुसार सो कम्पनीको ४२ प्रतिशतले यस्तो कर्जा वृद्धि भएको छ । धेरै कर्जा वृद्धि हुनेमा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीमा दोस्रोमा परेको छ । सो कम्पनीको गत आवको तुलनामा चालु आवका ३१.६९ प्रतिशतले कर्जा वृद्धि भएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ३०.२५ प्रतिशतले वृद्धि भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको २४.१२ प्रतिशतले वृद्धि भएको छ भने सन नेपालको २५.१७ प्रतिशतले कर्जा वृद्धि भएको छ ।
रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी यस्तो कर्जा प्रवाह गरेको छ । चालु आवको तेस्रो त्रैमास अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३६ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ३३ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले भने २१ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने कम्पनीले २२ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, धेरै कर्जा प्रवाह गर्नेमा नेशनल लाइफ तेस्रोमा परेको छ । सो कम्पनीले समीक्षा अवधिमा १२ अर्ब १७ करोड रुपैयाँ पोलिसी धितो राखेर दिने कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ११ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बीमा धारणा गरेको पोलिसी धितो राख्छ । आ आफनो बाेनश अनुसार सरेण्डर अनुसार फ्याक्टर ९० हजार कर्जा पाउँछ । त्यो कहाँ गएर कम्पनीको बाेनशमा आधारित हुन्छ । कम बाेनश हुनेको कर्जा उच्च हुन्छ भने कम बाेनश कम हुँदा कर्जा पनि कम हुन्छ । त्यो सरेण्डर मूल्यको छ ।