शीर्षकहरू

बीमा कम्पनीहरूको सोल्भेन्सी मार्जिनको अवस्था : को उत्कृष्ट, को जोखिममा ?

बीमा कम्पनीहरूको सोल्भेन्सी मार्जिनको अवस्था : को उत्कृष्ट, को जोखिममा ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूको सोल्भेन्सी अनुपात औसत २.४७ छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा सोल्भेन्सी रेसियो अनुपात पनि वृद्धि भएको छ । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूको सोल्भेन्सी रेसियो अनुपात औसत २.३९ थियो । 

जीवन बीमा कम्पनीहरूले प्रकाशित गरेको चालु आवको चैत्र महिनासम्मको वित्तीय विवरण अनुसार हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सोल्भेन्सी रेसियो अनुपात धेरै देखिएको छ । कम्पनीको सोल्भेन्सी रेसियो ३.८६ छ । गत आवको सोही अवधिमा कम्पनीको रेसियो अनुपात ३.७४ थियो । 

दोस्रोमा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो अनुपात ३.६४ छ । गत आवको सोही अवधिमा भने १.८४ थियो । गत आवको सोही अवधिमा तुलनामा चालु आवको समीक्षा अवधिमा कम्पनीको सोल्भेन्सी रेसियो वृद्धि भएको छ । 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सोल्भेन्सी रेसियो अनुपात ३.४२ छ । गत आवको सोही अवधिमा कम्पनीको रेसियो अनुपात १.८२ थियो । एशियन, मेटलाइफ, सन नेपाल र आईएमई लाइफको सोल्भेन्सी रेसियो अनुपात २ भन्दा बढी छ । 

त्यस्तै, सबैभन्दा कम हुनेमा नेशनल लाइफ परेको छ । समीक्षा अवधिमा यो कम्पनीको सोल्भेन्सी रेसियो अनुपात १.३४ मात्रै छ । गत आवको सोही अवधिमा भने कम्पनीको सोल्भेन्सी रेसियो अनुपात ४.७३ छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन र नेपाल लाइफको १.४५ छ ।

 null

बीमा कम्पनीको सोल्भेन्सी मार्जिन भनेको कम्पनीको सम्पत्ति र दायित्व बीचको अनुपात हो । जसले कम्पनीको वित्तीय स्थिरता र जोखिम वहन क्षमताको मापन गर्दछ । यसको उद्देश्य भनेको कम्पनीले भविष्यमा आउने दाबीहरू भुक्तानी गर्न सक्षम हुने गरी पर्याप्त पूँजी राख्नु हो ।

नेपालमा बीमा कम्पनीहरूको सोल्भेन्सी मार्जिनको न्यूनतम् मानक १.५ (१५० प्रतिशत) तोकिएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बताए । ‘नेपाली बीमा कम्पनीहरूले प्राधिकरणले तोके भन्दा पनि धेरै नै सोल्भेन्सी मार्जिन कायम गरेका छन् । यसले नेपाली कम्पनीहरू जोखिममा छैनन भन्ने देखाउँछ,’ उनले भने । 

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको सोल्भेन्सी मार्जिनको नियमनका लागि विभिन्न निर्देशनहरू जारी गरेको छ । यसमा कम्पनीहरूले आफ्नो पूँजी संरचना, लगानी नीति, र जोखिम व्यवस्थापन प्रक्रियाहरूलाई ध्यानमा राखेर सोल्भेन्सी मार्जिन कायम राख्नुपर्ने व्यवस्था गरिएको छ ।

सोल्भेन्सी मार्जिन बीमा कम्पनीहरूको वित्तीय स्वास्थ्यको महत्वपूर्ण सूचक भएको प्राधिकरणका उप-निर्देशक एवम् चाटर्ड एकाउन्टेण्ट विरोध बाग्लेले बताए । यसको उच्च अनुपातले कम्पनीको जोखिम वहन क्षमता र दीर्घकालीन स्थिरताको संकेत गर्ने उनी बताउँछन् ।‘कम्पनीहरूले प्राधिकरणको निर्देशिका अनुसार सोल्भेन्सी मार्जिन कायम राख्नुपर्छ । जसले बीमित व्यक्तिहरूको हक र हितको संरक्षण गर्छ,’  उनले दाबी गरे । 

निर्जीवन बीमा कम्पनीहरूको सोल्भेन्सी मार्जिन रेसियो अनुपात औसत ७८.९७ छ । गत आवको तुलनामा चालु आवको समीक्षा अवधिमा सोल्भेन्सी मार्जिन वृद्धि भएको तथ्यांक देखाएको छ । तर तीन कम्पनीहरुले गत आवको सोल्भेन्सी मार्जिन वित्तीय विवरणमा उल्लेख नै गरेका छैनन् । राष्ट्रिय बीमा कम्पनीले सोल्भेन्सी मार्जिन नै उल्लेख गरेको छैन । लामो समय देखि कम्पनीको वित्तीय लेखा परीक्षण नै नभएपछि सोल्भेन्सी मार्जिनको रेकर्ड नै राखिएको छैन । राष्ट्रिय जीवन बीमा कम्पनीले तथ्यांक सार्वजनिक गरेको छैन । 

आईजिआई प्रोडुन्सियल इन्स्योरेन्सको सबैभन्दा धेरै सोल्भेन्सी मार्जिन अनुपात ३४२.७  छ । गत आवको सोही अवधिमा भने २७७ थियो । सिद्धार्थ प्रिमियरको ३१८.८ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३३२.४ छ ।  

null

बीमा प्राधिकरणले जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिका जारी गरेको छ । कम्पनीहरूले सोही बमोजिम सोल्भेन्सी मार्जिन राख्न थालेको प्राधिकरणका उप-निर्देशक बाग्लेले बताए । जसका कारण केही कम्पनीको गत आवको सोही अवधिमा चालु आवमा अस्वाभाविक उच्च देखिएको छ ।

सोल्भेन्सी मार्जिन १०० देखि १३० प्रतिशतसम्म भयो भने त्यस्तो कम्पनीमा जोखिम नभएको मानिने बीमा प्राधिकरणका पूर्व निर्देशक दिनेश लाल कर्णले बताए । ‘प्राधिकरणले १३० देखि १५० प्रतिशत सोल्भेन्सी मार्जिन हुनेलाई राम्रो मानेको छ । त्यो भन्दा माथि भए धेरै राम्रो । कम भयो भने प्राधिकरणले  निगरानी गर्छ,’ उनले भने । १०० देखि १३० प्रतिशतसम्म हुने कम्पनीलाई प्राधिकरणले निगरानी मात्र गर्छ । कहिलेकाही नगद लाभांश वितरणमा रोक लगाउन र पूँजी बढाउन निर्देशन दिन सक्छ । 

७० देखि १०० प्रतिशत सोल्भेन्सी मार्जिन भएको कम्पनीलाई केही जोखिमपूर्ण मानिन्छ । यस्तो अवस्थामा प्राधिकरणले कम्पनीको सञ्चालक समिति परिवर्तन गर्न लगाउन सक्छ । लगानी गर्न र नगद लाभांश वितरणमा रोक लगाउन सक्छ भने प्राधिकरणले पूँजी बढाउने निर्देशन दिन सक्छ । 

४५ देखि ७० प्रतिशत सोल्भेन्सी मार्जिन भएको कम्पनीलाई उच्च जोखिमपूर्ण भएको मानिन्छ । यस्तो अवस्थामा प्राधिकरणले कडा निर्देशन दिन्छ । यस्ता कम्पनीको प्राधिकरणले निश्चित व्यवसायमा रोक लगाउन सक्छ । सञ्चालक समिति परिवर्तन गराउन सक्छ । 

जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशन अनुसार कम्पनीहरूले आफ्नो जोखिम प्रोफाइल अनुसार पर्याप्त पूँजी कायम गर्नुपर्छ । सम्पत्ति र दायित्वको मूल्यांकन बजार मूल्य र सम्भावित भविष्य जोखिमका आधारमा गरिनु पर्छ । जोखिम आधारित पूँजी प्रणालीमार्फत जीवन बीमा, साधारण बीमा, बजार जोखिम, क्रेडिट जोखिम, आपतकालीन जोखिम (जस्तै भूकम्प, बाढी, पहिरो) र सञ्चालन जोखिमका लागि आवश्यक पूँजी निर्धारण गरिन्छ । उपलब्ध पूँजी स्रोतलाई गुणस्तरका आधारमा वर्गीकृत गरिनेछ र बीमा प्राधिकरणले आवश्यक परेमा सीमाहरू तोक्न सक्छ । 

निर्देशनले सोल्भेन्सी नियन्त्रण स्तरहरू पनि निर्धारण गरेको छ । जसअनुसार जोखिम बढेमा प्राधिकरणले कम्पनीमा सिधै हस्तक्षेप गर्न सक्छ । प्राधिकरणले कम्पनीको नयाँ व्यवसाय रोक्ने, पूँजी वृद्धि गर्न लगाउने वा व्यवस्थापन परिवर्तन गर्न लगाउन  पनि सक्छ । साथै बीमकहरूले प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली लागू गर्नुपर्छ । जसमा लगानी, पुनर्बीमा, सञ्चालन जोखिम, तथा वातावरणीय र जलवायु सम्बन्धित जोखिमहरू पनि समावेश गर्नुपर्छ । बीमकहरूले आफ्नै जोखिमको आधारमा निरन्तर रूपमा आफ्नो जोखिम र सोल्भेन्सी मूल्यांकन गर्नुपर्छ ।