वीरगञ्ज । आर्थिक तथा बैंकिङ्ग गतिविधि सम्बन्धी बैंक तथा वित्तीय संस्था र अन्य निकाय प्रतिनिधिहरुसँग छलफल गरेको छ । नेपाल राष्ट्र बैंक, वीरगञ्जले आयोजना गरेको कार्यक्रममा मुलुकको वर्तमान आर्थिक अवस्था तथा नेपाल राष्ट्र बैंकको भूमिका, उद्योगी–व्यवसायीले नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरुसँग राखेको अपेक्षाबारे छलफल भएको छ ।कार्यक्रममा सहभागीहरुले राखेको सुझाव र गुनासो बारे वाणिज्य बैंकहरुका मधेश प्रदेश प्रमुख तथा शाखा प्रबन्धकहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशील पौडेलले देशको बर्तमान आर्थिक अवस्थामा राष्ट्र बैंकले खेलेको भूमिकाका आर्थिक क्षेत्रमा भइरहको बैंकिग गतिविधिबारे आफ्नो धारणा राख्नु भएको थियो ।
बैकका निर्देशक पौडेलले वाणिज्य बैंकहरुका क्रियाकलाप र भूमिका समय सापेक्ष परिवर्तित हुनुपर्ने तथा निजी क्षेत्रका भूमिका पनि प्रबद्र्धनकारी हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै वीरगन्ज उद्योग बाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले यस्ता कार्यक्रमले बैंक र उद्योगपति तथा व्यवसायीहरु बीचको सम्बन्धलाई रेखांकित गर्ने काम गरेको बताए । उनले मुलुकको वर्तमान आर्थिक तथ्यांकको ग्राफले आर्थिक अवस्था सहज नभएको बताउदै सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै बैंकिङ्ग प्रणाली व्यवस्थित र निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिए ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले उद्योगी, व्यवसायी र बैंकिङ्ग क्षेत्र बीचका छुट्टाछुट्टै धारणालाई एउटै बास्केटमा राखेर समस्या समाधानका लागि साझा पहल गर्नुपर्ने तर्फ सङ्घले संस्थागत धारणा राख्दै आइरहेको उनले बताए ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष अशोक वैध, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्षद्वय मनोजकुमार दास र आशिषकुमार लाठ, महासचिव शिवजी प्रसाद साह, कोषाध्यक्ष अनोज रुँगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, प्रशासकीय अधिकृत मनोज उपाध्याय लगायतकाले वर्तमान बैंकिङ्ग प्रणाली, उद्योगी, व्यवसायको अवस्था, राष्ट्र बैंकद्वारा निरन्तर जारी भई रहने निर्देशिका र सोले पार्ने प्रभाव, चालु पूँजी कर्जा निर्देशिकालाई समय सापेक्ष परिवर्तित गरिनुपर्ने, नेपाल राष्ट्र बैंक, वीरगञ्ज गुनासो सुनुवाई डेस्क र रिसर्चका कार्यहरुलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने लगायतका विषयहरुमा जोड दिएका थिए ।
कार्यक्रममा व्यापार व्यवसाय सञ्चालनका क्रममा रकम बोकेका यात्रु तथा व्यापारीहरुलाई हुण्डीको कारोबारीको संज्ञा दिई प्रहरी प्रशासनबाट दुःख दिने कार्य भइरहेको भन्दै नेपालको क्यूआर भारतमा समेत चल्नुपर्ने र बैंकिङ सेक्टरमा क्यूआर मार्फत रकम पठाउँदा १० रुपैयाँ सम्म काटने गरेको हुँदा त्यस तर्फ बैंकले ध्यान दिन जरुरी रहेको बताएका छन् । कार्यक्रममा वाणिज्य बैंकका मधेश प्रदेश प्रमुख, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।