काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उपभोक्ताको मूल्यमा करिब ६१ खर्ब ७ अर्ब हुने अनुमान गरिएकोमा सबैभन्दा धेरै योगदान बागमती प्रदेशले रहने प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार बागमती प्रदेशको योगदान ३६.५२ प्रतिशत पुगेको छ ।
त्यसपछि कोशी प्रदेशको योगदान १५.९० प्रतिशत, लुम्बिनी प्रदेशको १४.२३ प्रतिशत, मधेश प्रदेशको १३.१६ प्रतिशत, गण्डकी प्रदेशको ८.९८ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ७.०३ प्रतिशत रहेको छ । कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ४.१९ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादनमा प्रादेशिक योगदान सिमान्त रूपमा मात्र परिवर्तन भएको छ । गत आर्थिक वर्षको संशोधित अनुमानसँग तुलना गर्दा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको योगदान केही घटेको छ भने मधेश र बागमती प्रदेशको योगदानमा वृद्धि भएको देखिन्छ ।
प्रादेशीक आर्थिक वृद्धिमा गण्डकी अगाडि सुदूरपश्चिम कमजोर
यस्तै, आर्थिक वर्ष २०८१/८२ को प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा अघि गण्डकी प्रदेश देखिएको छ । जहाँ उपभोक्ताको मूल्यमा आधारित जीडीपी वृद्धिदर ५.५१ प्रतिशत रहेको प्रारम्भिक अनुमान छ । त्यसपछि बागमती प्रदेशको वृद्धिदर ५.१८ प्रतिशत रहेको छ । सबैभन्दा कम वृद्धिदर सुदूरपश्चिम प्रदेशमा देखिएको छ र जसको वृद्धिदर ३.३२ प्रतिशत मात्र रहेको छ।
राष्ट्रव्यापी औसत वृद्धिदर ४.६१ प्रतिशत रहेको सन्दर्भमा गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशको वृद्धिदर औसतभन्दा माथि देखिएको छ भने बाँकी प्रदेशहरूको वृद्धिदर औसतभन्दा तल रहेको देखिन्छ ।
आर्थिक वर्ष २०७९/८० देखि आर्थिक वर्ष २०८१/८२ सम्मको अवधिमा सबै प्रदेशको आर्थिक वृद्धिदर क्रमशः वृद्धि हुदै गएको देखिन्छ । यद्यपी, आर्थिक वर्ष २०८०/८१ बाट आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर नगण्य रूपमा मात्र बढेको देखिन्छ । विगत ३ वर्षको तथ्यांक हेर्दा अधिकांश प्रदेशमा वृद्धिदर विस्तारै बढेको देखिए तापनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा आर्थिक सुधारको गति कमजोर देखिन्छ । यसले प्रदेशबीचको आर्थिक असमानता र नीति निर्माणमा क्षेत्रीय सन्तुलन कायम गर्नुपर्ने आवश्यकता कार्यालयले औंल्याएको छ।
प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन बागमती अगाडि
आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहने संशोधित अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यूएस डलरमा बागमती प्रदेशको २६०२, गण्डकी प्रदेशको १६१९, कोशी प्रदेशको १४०१, लुम्बिनी प्रदेशको १२०१, सुदुरपश्चिम प्रदेशको ११५३, कर्णाली प्रदेशको १०८९ र मधेश प्रदेशको ९३२ हुने प्रारम्भिक अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यूएस. डलरमा १४९६ हुने प्रारम्भिक अनुमान गरिएको छ । यस हिसाबले बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषतभन्दा कम रहेको देखिन्छ ।