काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ । बिहीबार संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले र राष्ट्रिय रोजगार कार्यक्रम प्रबर्द्धनका लागि १ अर्ब ९९ करोड र सबै खालका सामाजिक सुरक्षा भत्ताका लागि १ अर्ब ९ करोड विनियोजन गरिएको बताए ।
मुलुकमा नै रोजगार सृजनाका लागि सबै प्रदेशमा रोजगार मेला कार्यक्रम सञ्चालन गरिनेछ । श्रम गन्तव्यको विविधीकरण गरिनेछ । श्रमिक महिलाको सेवा सुविधा र सुरक्षाको सुनिश्चितता सहित गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिनेछ ।
सबै प्रदेशबाट श्रमसम्बन्धी अनलाइन सेवा प्रदायक गरिनेछ । वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीपको सदुपयोग गरिनेछ । यस्ता श्रमिकलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने मन्त्री पौडेलले बताए । छरिएका सबै खालका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिनेछ । प्रदेश र स्थानीय तहबाट दिइने यस्ता सुविधालाई नदोहरिने गरि व्यवस्था गरिनेछ ।