काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो यात्रुचापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गरी बुटिक विमानस्थलमा विकास गरिने बताएका छन् ।
अर्थमन्त्री पौडेलले त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा विकास गर्न ४ अर्ब १५ करोड विनियोजन गरिएको बताएका छन् । बजेटमा आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाइ उडान सुरक्षा सूचीबाट बाहिर ल्याउन आवश्यक कार्य गरिने पनि उल्लेख गरिएको छ ।
आन्तरिक हवाइयात्रालाई थप सुरक्षित र पहुँचयोग्य बनाइने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गरिने अर्थमन्त्री पौडेलको भनाइ छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई भने पर्यटक र श्रमिकका लागि किफायती हुने गरी सञ्चालनमा ल्याउन आवश्यक सुविधा उपलब्ध गराइने पनि पौडेलले बताए ।