शीर्षकहरू

बजेटमा समावेश भएका नीतिहरु कार्यान्वयनका लागि राष्ट्र बैंकले तयारी थालिसकेको छ : गभर्नर पौडेल

बजेटमा समावेश भएका नीतिहरु कार्यान्वयनका लागि राष्ट्र बैंकले तयारी थालिसकेको छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा उल्लेख भएका बिषयहरु कार्यन्वयनका लागि राष्ट्र बैंकले तयारी थालिसकेको जानकारी दिएका छन् । शुक्रवार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गभर्नर पौडेलले यस्तो बताएका हुन । 

गभर्नर पौडेलले मौद्रिक नीति व्यवस्थापनसँग सम्बन्धित  विभिन्न कानुन बनाउने बिषय बजेटमा समावेश हुनु सकारात्मक पक्ष रहेको उल्लेख गरे । साथै उनले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने व्यवस्था ल्याइनु सकारात्मक रहेको बताए  । यस लगायतका बैंक तथा वित्तीय संस्थाहरुबारे बजेटमा आएका विषयहरु कार्यन्वयन बारे राष्ट्र बैंकले अध्ययन थालिसकेको उनको भनाई छ । 

सरकारले ल्याएको आगामी आवको बजेटमा सरकारले वित्तीय क्षेत्रको नियामक निकायहरूको क्षमता अभिवृद्धिदेखि खराब कर्जाको व्यवस्थापनका लागि छुट्टै कम्पनी स्थापना गर्नेसम्मको व्यवस्था गरिएको छ । ‘दोस्रो वित्तीय क्षेत्र सुधार रणनीति कार्यान्वयन गरिनेछ । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा तथा गैर बैंकिङ्ग सम्पत्ति व्यवस्थापनको लागि एसेट मेनेजमेण्ट कम्पनी स्थापना गरिनेछ’, आगामी आवको बजेटमा उल्लेख छ ।

गभर्नर पौडेलले भने ‘बजेटमा समावेश भएका नीतिहरू कार्यान्वयनका लागि राष्ट्र बैंकले सकारात्मक छ । बजेटमा हाम्रो पूर्ण समर्थन छ । बजेटमा समावेश भएका पक्षमा अध्ययन पनि गरिरहेका छौँ।’

व्यवसाय संकुचन भएको कारणले समस्यामा परेका उद्योगी व्यवसायीहरूको कर्जाको पुनर्तालिकीकरण, थप कार्यशील पुँजी प्रवाह र ब्याज जरिवानामा सहुलियत प्रदान गरी व्यावसायिक पुनरुत्थान गर्न सहजीकरण गरिने बजेटले उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ भित्र नियो बैंक स्थापना गरिने भएको छ । दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरी ग्रामीण अर्थतन्त्रको विकास गरिने र डिजिटल, मोबाइल तथा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरिने बजेटले उल्लेख गरेको छ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले बजेटको कार्यान्वयन कसरी अघि बढ्छ र त्यसको नतिजा कस्तो देखिन्छ भन्ने कुरा महत्वपूर्ण हुने बताए । बजेट कार्यान्वयन प्रभावकारी बनाउनका लागि नीतिगत व्यवहारिक र संरचनात्मक सुधारका काम गरिँदै जाने उनको भनाइ छ। 

“बजेट कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका काममा योजना आयोगले सबै मन्त्रालय र निकायसँग समन्वय गर्छ । बजेट कार्यान्वयन कार्ययोजना बनाउन सबै मन्त्रालयसँग चाँडै छलफल सुरु गर्छौँ”, उपाध्यक्ष अधिकारीले भने । त्यस्तै, आगामी बजेट १६औँ आवधिक योजना कार्यान्वयनका लागि केन्द्रित हुने अपेक्षा पनि उनले व्यक्त गरे ।