लुम्बिनी । ऐतिहासिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण लुम्बिनीमा दुईदिने बौद्ध आर्थिक शिखर सम्मेलन सुरु भएको छ। जेठ १६ र १७ गतेसम्म चल्ने सम्मेलनको शुक्रबार औपचारिक उद्घाटन गरिएको हो।
समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बौद्ध शिक्षाको दिगो विकास, हरित अर्थतन्त्र, सामाजिक न्याय र मानव कल्याणमा आधारित आर्थिक दृष्टिकोणबारे गम्भीर बहस र खोज आवश्यक रहेको बताए। उनले लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको समावेशी र दिगो विकास गर्न सकिने धारणा व्यक्त गरे ।
कार्यक्रममा विश्व विश्वविद्यालयका रजिस्ट्रार डा. तिलक आचार्यले अन्तर्राष्ट्रिय रूपमा आर्थिक गतिविधिहरू विश्वविद्यालयको सुझावअनुसार अघि बढ्ने भएकाले नेपालमा पनि यस्तै अभ्यास सुरु गर्नुपर्ने बताए।
त्यसैगरी, विश्व विश्वविद्यालयका उपकुलपति शुवर्णलाल ब्रजाचार्यले लुम्बिनीको दिगो विकासका लागि स्थानीय स्तरमा चेतना फैलाउनु आवश्यक रहेको उल्लेख गरे। साथै, उनले लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकका लागि नेपाली गाइडको उपयोग गर्नुपर्नेमा जोड दिए।
राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश कुमार श्रेष्ठले पनि सम्मेलनमा आ(आफ्ना विचार प्रस्तुत गर्दै बौद्ध दर्शनमा आधारित समावेशी आर्थिक मोडेल नेपालको लागि उपयुक्त हुने बताए।
दुईदिने सम्मेलनमा बौद्ध धर्म, अर्थशास्त्र, वातावरण तथा विकाससँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहभागिता रहनेछ।