शीर्षकहरू

सरकारले गरेको लगानीको अनुपातमा सार्वजनिक संस्थानबाट प्राप्त लाभांश २.४ प्रतिशत मात्रै

सरकारले गरेको लगानीको अनुपातमा सार्वजनिक संस्थानबाट प्राप्त लाभांश २.४ प्रतिशत मात्रै

काठमाडौं । सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड लाभा.श प्राप्त भएको देखिएको छ । कुल शेयर लगानीको तुलनामा लाभांश अनुपात २.४ प्रतिशत मात्र रहेको छ। सरकारले सार्वजनिक गरेको संस्थानको वार्षिक स्थिति समीक्षा-२०८२ यस्तो पाइएको हो। 

नेपाल सरकारले गरेको शेयर लगानीको प्रतिफल स्वरुप सम्बन्धित सार्वजनिक संस्थानबाट लाभांश प्राप्त हुने गर्दछ । आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ७५ करोड ६७ लाख लाभांश प्राप्त भएको थियो । 

नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालित छन् । तीमध्ये २० पूर्णसरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेको छ । सञ्चालनमा रहेका संस्थानमध्ये २८ नाफामा, १५ घाटामा र २ वटा बन्द भएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा जम्मा ७ वटा सार्वजनिक संस्थानबाट मात्र लाभांश प्राप्त भएको छ। आर्थिक वर्ष २०८०/८१ मा पनि आर्थिक वर्ष २०७९/८० मा जस्तै जनोपयोगी, सेवा र वित्तीय क्षेत्रबाट लाभांश प्राप्त भएको छ भने औद्योगिक, सामाजिक र व्यापारिक क्षेत्रबाट लाभांश प्राप्त भएको छैन।

कुल प्राप्त लाभांश मध्ये जनोपयोगी क्षेत्रको नेपाल दुरसञ्चार कम्पनी लिमिटेडबाट मात्र ७४.५६ प्रतिशत प्राप्त भएको छ। वित्तीय क्षेत्रका सार्वजनिक संस्थानबाट १ अर्ब ९० करोड ५७ लाख लाभांश प्राप्त हुँदा सेवा क्षेत्रबाट ३४ करोड २२ लाख मात्र लाभांश प्राप्त भएको छ

सरकारले सार्वजनिक गरेको संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार कुल शेयर तथा ऋण लगानी ५.८६ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ९३ करोड ८९ लाख पुगेको देखिएको छ । आर्थिक वर्ष २०७९/८० सम्ममा यस्तो लगानी ६ खर्ब ६४ अर्ब ९४ करोड ११ लाख रहेको थियो । समीक्षा अवधिमा जसमा शेयरको अंश ५१.८३ प्रतिशत तथा ऋणको अंश ४८.१७ प्रतिशत रहेको देखिन्छ ।

सार्वजनिक संस्थानमा आ.व. २०७९/८० को तुलनामा चुक्ता पुँजी १.४० प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०८०/८१ मा ४ खर्ब २१ अर्ब ६४ करोड ४७ लाख ११ हजार पुगेको छ । जसमा नेपाल सरकारको ९१.९७ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको ८.०३ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

क्षेत्रगत रूपमा विश्लेषण गर्दा सामाजिक क्षेत्रमा शतप्रतिशत, सेवा क्षेत्रमा ९९.५४ प्रतिशत, व्यापारिक क्षेत्रमा ९९.३५ प्रतिशत जनोपयोगी क्षेत्रमा ९८.७३ प्रतिशत र औद्योगिक क्षेत्रमा ९५.६१ प्रतिशत सरकारको स्वामित्व रहेको छ । वित्तीय क्षेत्रका सार्वजनिक संस्थानमा नेपाल सरकारको शेयर स्वामित्व सबैभन्दा कम ६५.९८ प्रतिशत रहेको छ भने अन्य संस्थान तथा निजी क्षेत्रको ३४.०२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ सम्म अस्तित्वमा रहेका ४५ संस्थानमध्ये २० वटा नेपाल सरकारको पूर्ण स्वामित्वमा र २५ वटा अधिकांश स्वामित्व (नेपाल सरकार र नेपाल सरकारको स्वामित्व रहेका अन्य निकायहरूको ५० प्रतिशतभन्दा बढी स्वामित्व) मा रहेका छन्। ३२ वटा सार्वजनिक संस्थानमा नेपाल सरकारको ९० प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व रहेको छ भने ३६ वटा संस्थानमा ६० प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व रहेको छ ।

सामाजिक क्षेत्रका सबै (पाँच वटा) संस्थानमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको छ । औद्योगिक क्षेत्रका दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, जनकपुर चुरोट कारखाना लिमिटेड र धौबादी फलाम कारखाना लिमिटेडमा नेपाल सरकारको शतप्रतिशत सेयर लगानी रहेको छ । नेपाल औषधी लिमिटेडमा नेपाल सरकारको ९९.०७ प्रतिशत र अन्य निजी क्षेत्रको ०.९३ प्रतिशत शेयर लगानी रहेको देखिन्छ । 

null

आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ । जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो । नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड रहेको छ । नाफामा रहेका संस्थानको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ । त्यस्तै नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी अघिल्लो वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति अघिल्लो आर्थिक वर्षको भन्दा २.२० प्रतिशतले वृद्धि भई २९ खर्व १० अर्ब १७ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्ममा ५.८६ प्रतिशतले वृद्धि भई ७ खर्ब तीन अर्ब ९३ करोड पुगेको छ । यसमध्ये शेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब सात करोड रहेको छ।

आव २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ । आव २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो । कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ ।