शीर्षकहरू

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड ८ लाख गैरकानूनी सम्पत्ति आर्जन

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड ८ लाख गैरकानूनी सम्पत्ति आर्जन

काठमाडौं । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप छ । 

सोडारीले सार्वजनिक पदधारण गरेको मिति २०७४ माघ ७ गतेदेखि २०७९ वैशाख १० सम्मको जाँच अवधिमा ८५ लाख ५१ हजार ३३४ रूपैयाँ आय आर्जन गरेको अनुसन्धानबाट पाइएको अख्तियारले जनाएको छ । उनी मुख्यमन्त्री हुनुअघि सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्री थिए । 

बैंक मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता बचत, गैरसरकारी संस्थाबाट प्राप्त भत्ता आय, श्रीमतीको पारिश्रमिक बचत, छोराको पारिश्रमिक र दैनिक भ्रमण भत्ता बचत, बुहारीको पारिश्रमिक बचत, कृषि आय, बुबा र आमाले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता बचत र बैंक ब्याज आयसमेत गरी उनको आय ८५ लाख ५१ हजार मात्र पाइएको हो ।

तर, सोही जाँच अवधिमा उनले १ करोड ९३ लाख ८९ हजार ६३७ रूपैयाँ लगानी तथा खर्च गरेको पाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । कूल आयभन्दा कूल व्यय अधिक हुन गई सोही बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको हुँदा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको  पौडेलले जनाएका छन् ।

उनी सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्री भइसकेका  र हाल प्रदेशसभा सदस्य रहेको हुनाले थप सजाय मागदाबी गरिएको छ । उनी नेकपा एकीकृत समाजवादीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । 

अख्तियारले उनको श्रीमती गीता सोडारी तथा छोरा बबि सोडारीलाई समेत प्रतिवादी कायम गरेको छ । उनीहरूको  नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दातको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ ।

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...