काठमाडौं । यस साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिन सामान्य बढेको नेप्से आज उच्च अंकले घटेको हो । मंगलबार नेप्से परिसूचक ३५.७३ अंक घटेर २६५८.९३ विन्दुमा झरेको छ । आजको बजारमा ३४ कम्पनीको मात्रै शेयर भाउ बढेको छ भने २१४ कम्पनीको घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । कारोबारमा आएको बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन करिब साढे ४ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६० करोड १५ लाख २ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।