काठमाडौं । ट्रेड टावर लिमिटेडले निष्काशन गरेको आईपीओमा ७ गुणा बढी आवेदन परेकाे छ। उक्त कम्पनीको आईपीओ भर्ने अन्तिम दिन आज जेठ २० गते साँझ ५ बजेसम्म ७.०८ गुण बढी आवेदन परेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर निष्काशन गरेको हो । जसमा १९ लाख ६१ हजार ३९१ जनाले २ करोड ३३ लाख ६० हजार ७० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले जेठ १४ देखि आम सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने समय एक दिन थप गरेको थियो । थप अवधि पछि आज जेठ २० गतेसम्म आवेदन दिन सकिन्थ्यो ।
कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८।६९६ प्रतिशत अर्थात् ३९ करोड ७१ लाख ६९ हजार रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये १० प्रतिशत अर्थात् ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकेको छ । कर्मचारीहरुका लागि ७९ लाख ४३ हजार रुपैयाँ बराबरको ७९ हजार ४३३।८६ कित्ता शेयर छुट्याइएको छ । सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४।६५ कित्ता बाँडफाँड गरिसकेको छ ।
कम्पनीका अनुसार आईपीओ बिक्रीबाट संकलन हुने ३९ करोड ७१ लाख रूपैयाँमध्ये ३० करोड रुपैयाँ लक्ष्मी सनराइज बैंक कर्जा तथा ब्याजको भुक्तानी गर्ने जानकारी दिएको छ । यस्तै ९ करोड रुपैयाँ होटल क्रिस्टल पशुपतिको क्षमता वृद्धि, होटल रुम थप तथा सोना स्पाको सुविधा थप गर्ने बताएको छ । कम्पनीले ७१ लाख ६९ हजार ३०० रुपैयाँ भने ट्रेड टावर थापाथली स्थित भवनको डोम तथा छाना मर्मत गर्न खर्च गर्ने उल्लेख गरेको छ ।