काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बीमा व्यवसाय सहकार्यसम्बन्धी सम्झौता भएको छ। बीमा व्यवसायका विषयमा बैंकको केन्द्रीय कार्यालयमा मंगलबार समझदारी भएको हो ।
समझदारी पत्रमा बैंकको अनुसन्धान र व्यापार पोर्टफोलियो विभाग प्रमुख कुमार ज्ञवाली र इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अनिल राज गिरिले हस्ताक्षर गरेका हुन् ।
डीसीईओ गिरिले यस सहकार्यले निर्जीवन लघु बीमा सेवाहरू विस्तार गर्न नयाँ सम्भावनाहरू खोल्ने उल्लेख गर्दै व्यक्तिहरू र साना व्यवसायहरूलाई अप्रत्याशित जोखिमबाट जोगाउन सहयोग पुग्ने बताउनुका साथै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लघु बीमाको अनुभव र बैंकको बैंकिङ पहुँचलाई समाहित गरेर सीमान्तकृत लगायत समुदायलाई सशक्त बनाउने लक्ष्य लिएको उल्लेख गरे ।
यसैगरी, उनले सहकार्यबाट नवीन उत्पादनहरूको विकास, संयुक्त बजारीकरण पहलको प्रवर्द्धन र सेवा प्रवाहलाई सरल बनाउन खोजिएको उल्लेख गरे । जसले लघु बीमा सम्बन्धी वित्तीय समाधानहरूको सहज पहुँच सुनिश्चित गर्ने उनको भनाइ छ ।
सम्झौता कार्यक्रममा बोल्दै बैंकका विभाग प्रमुख ज्ञवालीले उक्त साझेदारी व्यवसायका लागि मात्र नभई नवीन कार्य र प्रभावका लागि पनि भएको बताए ।