शीर्षकहरू

बैंकिङ निक्षेपमा रेकर्ड, कर्जा लगानी सुस्त हुँदा झनै घट्यो सीडी रेसीयो, लगानी योग्य रकम ७ खर्ब माथि

बैंकिङ निक्षेपमा रेकर्ड, कर्जा लगानी सुस्त हुँदा झनै घट्यो सीडी रेसीयो, लगानी योग्य रकम ७ खर्ब माथि

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको आकार साढे ६९ खर्ब नाघेको छ । वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुद्वारा संकलित निक्षेप (डिपोजिट) ६९ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो हालसम्मकै उच्च हो । तर समीक्षा अवधिमा कर्जा लगानी सुस्त हुँदा सीडी रेसियो साढे ७८ प्रतिशतमै झरेको छ । यस अवधिमा बैंकहरुले कुल ५५ खर्ब ४८ अर्ब कर्जा लगानी गरेका छन् । 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुको निक्षेप ६२ खर्ब १७ अर्ब तथा अन्य वित्तीय संस्थाहरुको निक्षेप ७ खर्ब ३७ अर्ब पुगेको छ । तर, वित्तीय प्रणालीमा निक्षेपको तुलनामा कर्जा भने विस्तार हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामध्ये वाणिज्य बैंकहरुले ४९ खर्ब ३० अर्ब तथा अन्य वित्तीय संस्थाले ६ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जा÷निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । तर हाल बैंकहरुले ७८.६४ प्रतिशत मात्र सीडी रेसियो कायम गरेका छन् । यसलाई हेर्दा बैंकहरुसँग ७ खर्ब १० अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।

बजारमा कर्जाको माग नै नभएको अवस्थामा बढ्दो जोखिमलाई लिएर यता बैंकहरुले पनि लगानीमा कडाई गर्दा बैंकहरुमा निक्षेप थुप्रिन पुगेको हो । साथै पछिल्लो समयमा रेमिट्यान्स आप्रवाहमा सुधार आएकाले पनि निक्षेप थपिनेक्रम जारी रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थुप्रदै जाने तर कर्जा विस्तार नहुँदा तरलता व्यवस्थापनमा तथा ब्याजदर करिडोर कायम राख्न पनि राष्ट्र बैंकलाई सकश परेको छ । 

सरकारले चालु आर्थिक वर्षमा १२.५ प्रतिशतले कर्जा बढाउने भने पनि गत चैतमसान्तसम्म ७.१ प्रतिशतले मात्रै कर्जा बढेको छ । आर्थिक शिथिलता चिर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने भए पनि आयात र शेयरमा मात्र कर्जा बढेको तथ्यांकले देखाएको छ । केही बैंकहरुमा देखिएको पुँजी कोषको दबाबले समेत कर्जा जान सकिरहेको छैन । आधा दर्जन बढी बैंकहरुलाई पुँजी कोषको दबाब देखिएको छ । राष्ट्र बैंकको नियम अनुसार बैंकहरुको जोखिमयुक्त कर्जाको आधारमा पुँजी कोष अनुपात ८.५ प्रतिशत हुनुपर्छ ।

बैंकहरुसँग लगानीयोग्य रकम ७ खर्ब, राष्ट्र बैंकमा थन्काए ३ खर्ब ६८ अर्ब

बैंकहरुको कर्जा निक्षेप अनुपात हेर्दा अहिले बैंकहरुसँग ७ खर्ब १० अर्ब रुपैयाँ बराबर लगानीयोग्य रकम रहेको देखिन्छ । त्योमध्ये जेठ २१ गते बुधबारसम्म बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्न नसकेको ३ खर्ब ६८ अर्ब ६५ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकमा जम्मा भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले बिहीबारसम्म स्थायी निक्षेप सुविधा (एसडीएफ) तथा निक्षेप संकलन उपकरण मार्फत उक्त रकम राष्ट्र बैंकमा राखेका हुन् ।

स्थायी निक्षेप सुविधा (एसडीएफ) को १ खर्ब ११ अर्ब ८० करोड  तथा  निक्षेप संकलन उपकरणमा लगानी गरेको २ खर्ब ५६ अर्ब ८५ करोड परिपक्क हुन बाँकी छ । बुधबार मात्रै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत ४० अर्ब तरलता प्रशोचन गर्न चाहेकोमा बैंकहरुले ३१ अर्ब ८५ करोड जम्मा गरेका छन् । 

बाह्य अर्थन्तत्र सुदृढ भएपनि आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्न सकेको छैन । जसले गर्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । निक्षेप बढे बमोजिम कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या रहेको छ ।कर्जा लगानी हुन नसक्दा बैंकहरुले राष्ट्र बैंकले जारी गर्ने अल्पकालीन उपकरणमा लगानी बढाएका छन् । 

null