शीर्षकहरू

लगातार तेस्रो दिन घट्यो नेप्से, डेढ सय कम्पनीको शेयर मूल्यमा गिरावट

लगातार तेस्रो दिन घट्यो नेप्से, डेढ सय कम्पनीको शेयर मूल्यमा गिरावट

काठमाडौं । यस साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्ला दुई दिनदेखि घटिरहेको नेप्सेले घट्ने क्रमलाई निरन्तरता दिँदा लगातार तेस्रो दिन ओरालो लागेको हो । 

बिहीबार नेप्से परिसूचक ५.९९ अंक घटेर २६४०.९६ विन्दुमा झरेको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन बुधबार ५ अर्ब १६ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

बिहीबारको बजारमा डेढ सय कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । आज १५३ वटा कम्पनीको शेयर भाउ घटेको हो । ९४ कम्पनीको भाउ बढ्दा एउटा कम्पनीको भने स्थिर रहेको छ । 

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.१३ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०४ प्रतिशत घटेको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिभर फल्स पावर, बुटवल पावर कम्पनी र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य यस दिन सर्वाधिक ९.३० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९१ करोड २३ लाख ९० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

null