शीर्षकहरू

भारतले गुणस्तर प्रमाणपत्र पुनः जारी गर्न थाल्यो, सिमेन्टको निर्यात बढ्ने आशा

भारतले गुणस्तर प्रमाणपत्र पुनः जारी गर्न थाल्यो, सिमेन्टको निर्यात बढ्ने आशा

काठमाडौं । ब्यूरो अफ इन्डियन स्टान्डर्ड (बीआईएस) ले नेपालमा उत्पादन भएको सिमेन्टलाई गुणस्तर प्रमाणपत्र दिन पुनः सुरु गरेको छ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईका अनुसार बीआईएसले चैतको अन्तिम सातादेखि नेपालमा उत्पादन भएको सिमेन्टलाई गुणस्तर प्रमाणपत्र दिन पुनः सुरु गरेको हो । 

नेपालले गत वर्ष देखि भारतमा सिमेन्ट निर्यात गर्न थालेको हो । तर, भारतले गुणस्तरको कारण देखाउँदै आठ महिना यता गुणस्तर मापन प्रमाणपत्र जारी गर्न रोक लगाएको थियो । यो सँगै नेपालबाट भारत निर्यात हुने सिमेन्ट पनि ७० प्रतिशत घटेको थियो । 
तर, आगामी दिनमा सिमेन्ट निर्यात हुने क्रम बढने विभागमा महानिर्देशक भट्टराईले बताए । ‘भारतले प्रमाणपत्र दिन सुरु गरेको छ । आशा गरौं आगामी दिनमा सिमेन्ट निर्यात हुने क्रम बढ्नेछ,’ उनले भने । 

तर, नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारु भने भारतले सबै सिमेन्ट उद्योगलाई गुणस्तरको प्रमाणपत्र जारी नगरेको बताए । बीआईएसले आंशिक रुपमा मात्रै प्रमाणपत्र प्रदान गरेको उनले दाबी गरे । ‘बीआईएसले केही उद्योगीलाई मात्रै दिएको छ । केहीलाई दिएको आधारमा बीआईएसले नेपाली सिमेन्ट उद्योगलाई गुणस्तरको प्रमाणपत्र दिन सुरु गरेको हो भन्न मिल्दैन,’ उनले भने । 
सर्वाेत्तमका सिमेन्ट कम्पनीका अध्यक्ष विष्णु प्रसाद न्यौपानेका अनुसार नेपालको सिमेन्ट भारत बाहेक तेस्रो मुलुक निर्यातको ठुलो सम्भावना छ । उनका अनुसार बंगलादेशमा पनि सिमेन्ट निर्यात गर्न सकिन्छ । तर, छिमेकी मुलुक चिनमा भने निर्यात गर्न नसकिने उनले बताए । उनका अनुसार नेपालको सिमेन्ट उद्योगहरु तराई क्षेत्रमा छन् । ‘त्यहाँबाट चिन लैजाँदा ढुवानी भाडा नै धेरै लाग्छ । ढुवानीका कारण सिमेन्टको मूल्य महँगो पर्न जान्छ । जसका कारण व्यवसायीलाई नाफा हुँदैन,’ उनले भने । 

नेपालमा हाल सिमेन्ट उत्पादन तथा विक्री वितरणका लागि ५९ वटा उद्योग दर्ता भएका छन् । जसमध्ये केही उद्योगले आफै उत्पादन गर्छन् भने केहीले अन्यले उत्पादन गरेको सिमेन्ट प्याकेजिङ गरेर विक्री गर्छन् । 

७० प्रतिशतले घट्यो सिमेन्टको निर्यात 

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनाको अवधिमा सिमेन्ट निर्यात ह्वातै घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको वैशाखसम्ममा ७ लाख ७२ हजार टन सिमेन्ट निर्यात भएको छ ।  जुन गत आवको तुलनामा ७० प्रतिशत कम हो । गत आवको सोही अवधिमा नेपालबाट २५ लाख ६४ हजार टन सिमेन्ट निर्यात भएको थियो । 

सिमेन्ट निर्यात कम भएसँगै व्यापारबाट नेपाल भित्रने रकम २७ प्रतिशतले घटेको छ । चालु आवको १० महिनामा नेपालले सिमेन्ट निर्यात गरेर दुई अर्ब ४१ करोड ८८ लाख रुपैयाँ भित्राएको छ । गत आवको सोही अवधिमा तीन अर्ब ३३ करोड ५५ लाख रुपैयाँ भित्रिएको विभागको तथ्यांक छ । 

भारतले नेपाली सिमेन्टलाई गुणस्तरमा कडाइ गरेपछि निर्यात घटेकोे नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारु बताउँछन् । उनका अनुसार भारतले नेपालका सिमेन्ट उद्योगलाई गुणस्तरको प्रमाणपत्र दिन्छ । र, उद्योगहरुले हरेक वर्ष त्यसको नविकरण गर्नुपर्ने हुन्छ । ‘यस वर्ष भने बीआईएसले नविकरण गरिदिएन, जसको कारणले यहाँको सिमेन्ट भारत निर्यात हुन सकेन् । तर, नविकरण गर्ने अवधि बाँकी कायम रहेका कम्पनीहरुले भने सिमेन्ट निरन्तर निर्यात गरिरहेका थिए,’ उनले भने । 

नविकरण गर्ने अन्तिम मिति केही महिना बाँकी नै रहेकाले आफ्नो उत्पादन भने भारत निर्यातमा नरोकिएको सर्वाेत्तम सिमेन्टका अध्यक्ष विष्णु प्रसाद न्यौपाने बताए । ‘सर्वाेत्तमको नविकरण गर्ने मिति ४ महिना बाँकी नै थियो, यसकारण हाम्रो सिमेन्ट निरन्तर निर्यात भइरह्यो । हाम्रो निर्यात बढेको पनि छ,’ उनले भने । 

क्षमताको ६० प्रतिशत मात्रै उत्पादन गर्छन नेपाली उद्योग

नेपालको सिमेन्ट उद्योगले क्षमताको ६० प्रतिशत मात्रै उत्पादन गर्दै आएको सर्वाेत्तम सिमेन्टका अध्यक्ष विष्णु प्रसाद न्यौपाने बताए । उनका अनुसार नेपाली सिमेन्ट उद्योगसँग एक करोड ६० लाख सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता छ । 

आर्थिक शिथिलताका कारण पछिल्लो दुई वर्षदेखि सिमेन्ट मागमा कमी आएको छ । काम कम भएपछि उद्योगहरुले क्षमता अनुसारको उत्पादन गर्न नसकिएको उद्यमीहरु बताउँछन् । तर, पछिल्लो समय आन्तरिक माग बढ्न थालेको छ । 

नेपालमा वार्षिक १ करोड टन सिमेन्ट खपत हुन्छ । जसमा ९६ प्रतिशत माग नेपाली उत्पादनले नै धानेको छ । मागको ४ प्रतिशत सिमेन्ट भारतबाट आयात हुने गरेको छ । गत आर्थिक वर्ष मात्रै करिब ४ लाख टन सिमेन्ट नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।