काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले धितोपत्र बोर्डको गुणात्मक रुपमा सुधार गर्न चाहेको बताएका छन् । बोर्डको ३३ औ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बोर्डको सुधार लागि बजेटमा विशेष प्राथमिकता दिइएको बताए ।
मन्त्री पोडैलले बोर्डले मुख्य गरी दुई वटा काम गर्ने बताए । ‘नियमनकारी निकाय हैसियतले बोर्डले मुख्य गरी दुई वटा काम गर्नुपर्छ । राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र गल्ती गर्नेलाई दण्डित गर्नुपर्छ,’ उनले भने ।
समय समयमा बजारमा बोर्डको काम प्रति टीका टिप्पणी हुने गरेका छन् । तर, लगानीकर्तालाई असर पुग्ने गरी बजारमा हुने कुनै पनि प्रकारका अनियमिततामा शून्य सहनशिलता अपनाउनु पर्ने उनले बताए ।
नियमनकारी निकाय भएकै कारण बोर्डलाई दबाब वा प्रभाव पार्ने काम पनि हुन सक्ने उनले बताए । तर, दबाब र प्रभाव भन्दा माथि उठेर पारदर्शी काम गर्न पनि उनले बोर्डलाई निर्देशन दिए । यसैगरी सबै लगानीकर्तालाई विश्वासका साथ लगानी गर्ने वातावरण बनाउने र लगानीकर्तालाई सचेत गराउनु पनि पर्ने उनले बताए ।
बजारमा आएका नयाँ नयाँ उपकरणलाई पनि प्रबर्द्धन बजारको कुशल व्यवस्थापन गर्नुपर्ने उनले बताए । ‘आगामी दिनमा बोर्डलाई औपचारिक संस्थाको रुपमा मात्रै नभई उम्दा संस्थाको रुपमा स्थापित गराउनु होस,’ उनले भने ।