काठमाडौं । डिम्याट खाता (हितग्राही खाता) को संख्या ६७ हजार ५२ हजार नाघेको छ । सेयर बजारमा कारोबार गर्नका लागि डिम्याट खाता अनिवार्य गरिएपछि डिम्याट खाताको संख्या पनि बढेको हो । तर, डिम्याट खाताको तुलनामा बजारमा सक्रिय लगानीकर्ताको संख्या भने कम छ ।
नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म डिम्याट खाता खोल्ने लगानीकर्ताहरूको संख्या ६७ लाख ५२ हजार ७ सयको हाराहारीमा पुगेको छ । डिम्याट खाताको प्रवृत्ति विश्लेषण गर्दा नेपालको सेयर बजारमा व्यक्तिगत लगानीकर्ताहरूको संख्या अत्याधिक रहेको छ । जसमा, पुरुष हिस्सा ५२.५७ प्रतिशत छ भने महिला ४२.४३ प्रतिशत रहेको सिडिएसको तथ्यांकले देखाउँछ ।
विगत पाँच वर्षमा धितोपत्र बजारमा लगानीकर्ताको सहभागिताको अवस्थालाई नियाल्दा २०७७ साल असार मसान्तमा १७ लाखको हाराहारीमा डिम्याट खाता खोलिएको थियो । आव २०७७/७८ को अन्त्यसम्ममा आइपुग्दा यो संख्या ३७ लाख ३६ हजार ९२६ पुगेको थियो । आव २०७८/७९ को अन्त्यमा डिम्याट खाताको संख्या ५२ लाख ६० हजार २५१ पुग्यो । आव २०७९/८० को अन्त्यमा उक्त संख्या ५८ लाख २३ हजार पुगेकोमा गत आव २०८०/८१ को अन्त्यमा ६२ लाख ७२ हजार ३ सय ५१ पुगेको बोर्डको तथ्यांक छ ।
प्रदेशगत रूपमा हेर्दा डिम्याट खाता खोल्नेको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ३६.११ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.६१ प्रतिशत खाता खुलेको बोर्डको तथ्यांकमा उल्लेख छ । यसले बजारको पहुँच उपत्यका भन्दा बाहिर पुग्न नसकेको बुझाउँछ । त्यसैगरी कोशी प्रदेशमा १८.८५, गण्डकी प्रदेशमा १२.८१ प्रतिशत, लुम्बिनी प्रदेशमा ११.८०, मधेश प्रदेशमा ११.६४ र सुदुरपश्चिम प्रदेशमा ६.१८ प्रतिशत डिम्याट खाता खोलेको तथ्यांक छ ।
सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता अनिवार्य छ । सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैंकमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथाव डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ ।
डिम्याट खाता विभिन्न प्रकारका हुन्छन् । व्यक्तिगत डिम्याट खाता, संयुक्त डिम्याट खाता, नाबालक डिम्याट खाता, संस्थागत डिम्याट खाता र एनआरएनए डिम्याट खाता ।
यस्तै, चालु आव २०८१/८२ को वैशाख मसान्तसम्म मेरो सेयर खाताको संख्या ५८ लाख १६ हजार पुगेको छ । २०७७ असारमा मेरो सेयर खाताको संख्या करिब ७ लाख रहेकोमा २०७८ को असारमा उक्त संख्या वृद्धि भई २८ लाख ५१ हजार ८ सय ३ पुगेको थियो । आव २०७८/७९ को अन्त्यमा उक्त संख्या ४३ लाख ६८ हजार ६ सय ३९ पुगेको छ । आव २०७९/८० को ४७ लाख ४१ हजार ५५ पुगेको छ । आव २०८०/८१ मा ५३ लाख २२ हजार ९ सय ६९ पुगेको थियो ।
चालु आवको बैशाखसम्ममा अनलाईन युजरनेम लिने लगानीकर्ताको संख्या २६ लाख ३३ हजार ५१० पुगेको छ । धितोपत्रको दोस्रो बजारमा अनलाईन लगईन लिने लगानीकर्ताको संख्यामा समेत उल्लेख्य वृद्धि भएको बोर्डको तथ्यांक छ । २०७७ असारमा धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि करिब ३५ हजार भन्दा बढीले युजर आईडि लिएका थिए । २०७८ सालमा असारमा यस्तो आईडी लिनेको संख्या ७ लाख ९५ हजार ९३४ पुगेको थियो । आव २०७८/७९ को अन्त्यसम्ममा भने १४ लाख ८५ हजार ४६० ले अनलाइन आइडी लिए । आव २०७९/८० को अन्त्यसम्म १७ लाख ६३ हजार ३०१ ले आइडी लिए । आव २०८०/८१ मा भने २२ लाख १६ हजार २ सय ४७ पुगेको छ ।