काठमाडौं । सन् २००८ मा त्रिभुवन विश्वविद्यालयबाट स्नातहकोत्तर तहको अध्ययन सकिएपछि उदयपुरका कैलाश बाबु गेलालले सिप्रदी ट्रेडिङबाट आफ्नो करिअरको सुरुवात गरे । सिप्रदीमा उनले डेपुटि म्यानेजरबाट कामको सुरुवात गरे । मेहनती र आफनो काम प्रति प्रतिबद्ध गेलालले छोटो समयमा नै कम्पनीमा राम्रो पोजिसन प्राप्त गरे । सिप्रदीमा १० वर्ष विताएपछि उनले केही नयाँ गर्ने सोच बनाए । हुन त कम्पनीले उनलाई भने जस्तै पद र सेवा सुविधा पनि दिएको थियो । तर, जागिरे जीवन भन्दा फरक केही गर्ने उनले सोच बनाए ।
कैलाश आफनै व्यवसाय सुरुवात गर्न चाहन्थे । त्यसैले सिप्रदीको लोभलाग्दो आम्दानीलाई छोडेर उनले रविभवनमा आफनै टीभीएस बाइकको शोरुम सञ्चालन गरे । कम्पनीको नाम जी मोटर्स राखे । यो नाम उनको लागि खास छ । कैलाश आफनो बुबासँग धेरै नजिक थिए । त्यसैले आफ्नो कम्पनीको नाम बुबाकै नामबाट राखे ‘ जी मोटर्स’ ।
कैलाशले ६ महिनाको अवधिमा २०० भन्दा बढी बाइक तथा स्कुटर बिक्री गरे । व्यापार राम्रो भै रहेको थियो तर, नाफा भने उनले आर्जन गर्न सकेनन् । कम्पनीमा घाटामा गयो । सानो स्केलमा व्यापार गरेर सञ्चालन खर्च नै धान्न नसकिने निष्कर्ष निकाल्दै उनले ६ महिनामा नै शोरुम बन्द गरे ।
भै रहेको जागिर छाडेर व्यवसाय गरे । व्यवसाय पनि बन्द भयो । अब भने के गर्ने र कहाँ जाने भन्ने कुराले उनलाई धेरै पिरोल्न थाल्यो । एउटा ढोका बन्द भए अर्को ढोका खुल्छ भने जस्तै गेलालको पनि नयाँ ढोका खुल्यो । यसपटकको यात्रा भने उनले फोर ह्वीलबाट गरे ।
गेलालले भक्तपुरको सल्लाघारीमा फोर्स मोटर र रेनाेको डिलर सञ्चालन गरे । तर, उनले डिलर सञ्चालन गरेको केही वर्षमा कोभिड सुरु भयो ।
तथापि उनले सो समयसम्म रेनाेका ८ सय र फोर्सका २ सय गरी एक हजार हराहारीमा गाडी बिक्री गरिसकेका थिए । यसैगरी, सोहि समयमा इटहरीमा निसान र कियाको डिलर पनि जी मोटर्सले सञ्चालनमा ल्यायो । इटहरीमा पनि ८ सय यूनिट गाडि बिक्री भएको उनी सुनाउँछन् । इटहरीको डिलर उनका दाजुले सम्हाल्दै आएका छन् ।
कोरोना माहामारी शान्त भएपछि विदेशी विनिमय सञ्चिति कम भएको भन्दै सरकारले गाडी लगायत विभिन्न वस्तुहरु आयातमा प्रतिवन्ध लगायो । कोरोनाले थला परेको अटो बजार सरकारको प्रतिवन्धले झन नाजुक बन्दै गएको थियो । त्यसले गर्दा आईसीई सवारी बिक्री गर्ने व्यवसायीहरुको अवस्था दिन प्रतिदिन खस्किँदै गयो । त्यसपछि विद्युतीय सवारीको रिदम नेपालमा चल्न थालेको थियो । ईभीको आयातमा भन्सार छुट देखि लिएर सरकारले विभिन्न विषयमा प्रोत्साहन दिँदै थियो ।
सोही समयमा कैलाशले पनि डिलरशिप भन्दा पनि आयातकर्ता बन्ने सोच राखेर त्यसबारे अध्ययन गर्दै थिए । उनी त्यसका लागि कुन गाडी आयात गर्ने भनेर धेरै रिसर्च गरेका थिए । त्यस शिलसिलामा उनी भारत, चिनदेखि जापानसम्म गाडी अध्ययनका लागि पुग्ने गरेका थिए । यसरी सबैजसो देशमा सबैजसो ब्राण्डको अध्ययन गर्दा उनको रोजाईमा प¥यो स्काइवेल ब्राण्ड । त्यसपछि स्काइवेल नै आयात उनले सुरु गरे । भक्तपुरको राधेराधेमा डिलर राखेर आयात सुरु गरिएको स्काइवेलको आधिकारीक डिलर हाल नक्सालको नारायण चौउरसँगै रहेको छ ।
टाटा देखि स्काइवेलसम्मको १७ वर्षको यात्रामा धेरै संघर्ष गरेको र धेरै तिता मिठा अनुभव प्राप्त गरेको उनी बताउँछन् । ‘तिता मिठा अनुभवलाई सगाल्दै कुनै कुरा प्राप्ति गर्न दृढ संकल्प र निरन्तरता चाहिन्छ,’ उनले भने । भनिन्छ मानिसको सफलताको पछाडी कुनै न कुनै अन्य व्यक्तिको हात हुने गर्दछ । उनको यो सफलताका लागि सिप्रदी तत्कालिन सीईओ शम्भु दाहालको ठुलो हात रहेको उनले सुनाए । शम्भु दाहालको प्रेरणाले जीवनको बाटाहरु फैलाउन सफल भएको कैलाश बताउँछन् । आज पनि उनले शम्भु दाहाललाई आफ्नो गुरुका रुपमा सम्झिन्छन् ।
जी मोटर्स विद्युतिय गाडीमा ढिलो आयो ?
नेपालमा विद्युतीय सवारीको इतिहास धेरै लामो भएतापनि साङिख्यक रुपमा ईभीको हाइप आएको भने धेरै भएको छैन् । २०७८/०७९ को बजेट मार्फत ईभीलाई प्रोत्साहन दिने नीति आएपछि नेपालमा ईभीको आयात ह्वात्तै बढ्न थालेको हो । तर, ईभीको आयात संख्यात्मक रुपमा वृद्धि भएको ३ वर्षपछि बल्ल स्काइवेल नेपाल भित्रिएको हो । यसबारे जी मोटर्सका म्यानेजिङ डाइरेक्टरसमेत रहेका गेलालले आफुहरु ईभीमा आउन केही ढिला भएको स्वीकार पनि गर्दछन् ।
ढिलो सुरु गरेपनि नेपालको बाटोमा सुहाउँदो, सबैभन्दा धेरै रेन्ज भएको लगायतका विशेषता भएको ईभी नेपाल भित्राएको उनी बताउँछन् । उनी भन्छन्, ‘हामिले ढिलो गरे पनि सबैभन्दा उत्कृष्ट सवारी ल्याएका छौँ, नेपालमा सबैभन्दा धेरै रेन्ज दिने गाडी हामिले ल्याएका छौँ । राम्रो गाडी ल्याउन त अनुसन्धान पनि धेरै गर्नु पर्यो । त्यसकारण केही ढिला भयो ।’
उनका अनुसार ईभीमा मोटर पावर, ब्याट्रिको पावर, रेन्ज लगायतको फिचरमा कम्परमाइज हुनु भएन । स्काइवेलमा पनि यी फिचरर्सहरु उत्कृष्ट छन् ।
कैलाश बाबुको नजरमा स्काइवेल नै किन पर्याे ?
स्काइवेल यस्तो ब्राण्ड हो जुन चाइनाबाट युरोप निर्यात हुने न्यू एनर्जी भेहिकलमध्ये ईयू सटिफिकेशन पाउने पहिलो ब्राण्ड हो । स्काइवेलको ईटी५ मोडलले २०१७ मा यूरोपको ईयू सटिफिकेशन पाएको थियो । त्यस समयसम्म चाइनाका अन्य कुनै पनि न्यू एनर्जी भेहिकलले सो सटिफिकेट पाएका थिएनन् । त्यस समयसम्म चाइनाका अन्य कुनै पनि ईभीले यूरोप प्रवेश नै पाएका थिएनन् ।
इम्पोर्टका लागि अध्ययन गर्दै जाँदा स्काइवेलको यो विषय बुझ्न पाएपछि आफ्नो ध्यान स्काइवेलतिर गएको उनी बताउँछन् । उनी भन्छन्, ‘सवारीहरु आयातका लागि यूरोपमा एउटा मापदण्ड हुन्छ । त्यो मापदण्ड पुरा गरेकै हुनु पर्छ, नेपालमा जस्तो जुन पायो त्यहि ल्याउन त्यहाँ पाइदैन ।’ यूरोप लगायत अन्य देशमा जुन स्काइवेल निर्यात हुन्छ, नेपालमा पनि सोही स्काइवेल आयात हुन्छ । अध्ययन गर्दा स्काइवेल त्यस लेवलको गाडी हो भन्ने बुझेपछि स्काइवेल नेपाल भित्र्याउने निधो गरेको उनी बताउँछन् ।