शीर्षकहरू

म्यानपावर कम्पनी नवीकरण गर्दा सञ्चालक देखि कर्मचारीको विवरण पनि पेश गर्न विभागको निर्देशन

म्यानपावर कम्पनी नवीकरण गर्दा सञ्चालक देखि कर्मचारीको विवरण पनि पेश गर्न विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर वैदेशिक रोजगारी व्यवसाय नवीकरण गर्दा सञ्चालक देखि कर्मचारीको पनि विवरण पेश गर्न भनेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार सम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्थाहरूले इजाजतपत्र अनुमतिपत्र नवीकरण गर्दा गुगल प्लस कोड र अपडेट गुगल म्याप पनि पेश गर्नुपर्ने व्यवस्था गरेको छ । 

विभागले स्वीकृति प्राप्त शाखा कार्यालयहरू, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरू, केयर गिभर सम्बन्धी सीप विकास तालिम प्रदायक संस्थाहरू, घरेलु कामदार सम्बन्धी सीप विकास तालिम प्रदायक संस्थाहरू, वैदेशिक रोजगारमा जाने कामदारहरूलाई सीपमूलक तालिम प्रदान गर्ने संस्थाहरू एवम् खास देश पठाउनको लागि सूचीकृत भएका संस्थाहरूले कानून बमोजिम तोकिएको समयावधि भित्र इजाजतपत्र अनुमतिपत्र नवीकरण गर्न पनि आग्रह गरेको छ । अन्यथा कानून बमोजिम कारवाही गरिने जनाएको छ । 

वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ बमोजिम यी संस्थाहरू वार्षिक रुपमा नवीकरण हुनुपर्नेछ । 

नेपालमा एक हजार ६०० भन्दा बढी म्यानपावर व्यवसायी दर्ता छन् । तर, करिब एक हजार वटा संस्था मात्रै सक्रिय छन् । ऐन अनुसार वार्षिक १०० सय जना श्रमिक वैदेशिक रोजगारीमा पठाउने व्यवसायीले तीन वर्षको कर भुक्तानी गरी नवीकरण हुन पाउने व्यवस्था छ ।