काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनाको अवधिमा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुवाट निजी क्षेत्रमा प्रवाहित भएको कर्जा ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । यो रकम गत आवको सोही अवधिमा तुलनामा ७.३ प्रतिशत बढी हो ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मासिक प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब २५ अर्ब २४ करोड (४.७ प्रतिशत) रुपैयाँ प्रवाह भएको थियो । वार्षिक विन्दु गत आधारमा २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ ।
२०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश २६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र २६.३ प्रतिशत रहेको थियो ।
यस अवधिमा क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.६ प्रतिशतले, विकास बैंकहरुको ४.१ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.५ प्रतिशतले वढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत रहेको छ । २०८१ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १२.१ प्रतिशत र ६६.५ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्र तर्फको कर्जा ९.० प्रतिशतले निर्माण क्षेत्र तर्फको कर्जा १२.३ प्रतिशतले थोक तथा खुद्रा व्यापार क्षेत्र तर्फको कर्जा ४.९ प्रतिशतले यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्र तर्फको कर्जा ११.९ प्रतिशतले सेवा उद्योग क्षेत्र तर्फको कर्जा ७.९ प्रतिशतले र उपभोग्य क्षेत्र तर्फको कर्जा ८.८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुवाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ५.१ प्रतिशतले मार्जिन प्रकृतिको कर्जा ३९.३ प्रतिशतले दृष्ट रिसिट आयात कर्जा ५८.१ प्रतिशतले हायर पर्चेज कर्जा ४.१ प्रतिशतले नगद प्रवाह कर्जा ३.४ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १२.९ प्रतिशतले घटेको छ ।