काठमाडौं । बैक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर ओरालो लागेको छ । वित्तीय संस्थामा तरलता अधिक र कर्जा प्रवाह खुम्चिए पछि कर्जाको ब्याजदर ओरालो लागेको हो । गत वैशाख महिनामा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.११ प्रतिशत पुगेको थियो । यो अघिल्लो आवको सोही अवधिमा तुलनामा पनि २.३३ प्रतिशतले कम हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८१ वैशाखमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १०.३४ प्रतिशत थियो । गत चैत महिनामा पनि यस्तो ब्याजदर ८.२२ प्रतिशत थियो ।
चालु आवको वैशाख महिनामा विकास बैंकहरुको ९.४५ प्रतिशत र वित्त कम्पनीहरूको १०.३१ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा विकास बैंकहरुको ११.८९ प्रतिशत र वित्त कम्पनीहरूको १३.११ प्रतिशत रहेको थियो ।
२०८२ वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.३७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा भने निक्षेपको भारित औसत ब्याजदर ६.३५ प्रतिशत थियो ।
बैशाखमा विकास बैंकहरुको ५.११ प्रतिशत र वित्त कम्पनीहरुको ६.१५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने विकास बैंकहरुको ७.३१ प्रतिशत र वित्त कम्पनीहरूको ८.५५ प्रतिशत थियो ।
वित्तीय संस्थाको औसत आधार दर पनि घटेको छ । वैशाखमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.१७ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा ८.३४ प्रतिशत थियो ।
वैशाखमा विकास बैंकहरुको ८.२४ र वित्त कम्पनीको ९ंं.११ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा भने विकास बैंकहरुको १०.१५ प्रतिशत र वित्त कम्पनीहरूको ११.६१ प्रतिशत रहेको थियो ।
बैशाखमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.९५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने ३.०२ प्रतिशत थियो ।
बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८१ वैशाखमा २.८८ प्रतिशत रहेकोमा २०८२ वैशाखमा ३.०० प्रतिशत रहेको छ ।