शीर्षकहरू

अर्थमन्त्रालयलाई बुझाएको करिब एक वर्ष पछि सार्वजनिक भयो शिवाकोटी प्रतिवेदन : नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन सिफारिस

अर्थमन्त्रालयलाई बुझाएको करिब एक वर्ष पछि सार्वजनिक भयो शिवाकोटी प्रतिवेदन : नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन सिफारिस

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटी संयोजकत्वमा गठित अध्ययन समितिले तयार पारेको धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने/नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले अर्थमन्त्रालयलाई बुझाएको करिब एक वर्ष पछि बोर्डले सार्वजनिक गरेको हो । अध्ययनले नयाँ स्टक एक्सचेन्ज सञ्चालन अनुमति दिन सिफारिश गरेको छ । 

‘विद्यमान धितोपत्र सम्बन्धी ऐन, २०६३ र यस ऐन बमोजिम बनेका नियमावली तथा निर्देशिकहरूमा भएको व्यवस्था बमोजिम निजी क्षेत्रको लगानीमा थप एउटा स्टक एक्सचेन्जलाई संचालन अनुमति दिन उपयुक्त हुने’ प्रतिवेदनमा उल्लेख छ ।

स्टक एक्सचेन्जको अनुमति दिने सम्बन्धमा सूचना प्रकाशित गर्ने, आवेदन पेश गर्ने, आवश्यक कागजातहरू संलग्न गर्ने, आवेदन र कागजातको विश्लेषण गर्ने, छनौट विधि र अंकभार निर्धारण गर्ने र इजाजत प्रदान गर्नेसम्मका सम्पूर्ण प्रकृयाहरू नियम संगत र पारदर्शी हुनुपर्ने समितिले सिफारिस गरेको छ । यसरी थप स्टक एक्सचेन्जको प्रवेश गराउँदा आवश्यक मापदण्डहरू पुरा गरेको हुनुपर्ने गरी शर्तहरू तोक्नुपर्नेछ ।

नयाँ स्टक एक्सचेन्जको प्रवेशले प्रतिस्पर्धा निम्त्याउने हुँदा प्रतिस्पर्धी वातावरणमा आफ्नो अस्तित्व जोगाउन सक्षम हुनका लागि नेप्सेको पुनर्संरचना गर्ने प्रतिवेदनमा लेखिएको छ । नयाँ स्टक एक्सचेन्जको प्रवेश पछिको परिदृश्यलाई प्रभावकारी नियमन गर्न सक्ने गरी बोर्डको क्षमता अभिवृद्धि गर्न पनि समितिले सिफारिस गरेको छ । 

नयाँ स्टक एक्सचेन्जको लागि आवश्यक मापदण्ड तथा शर्तहरू

नेपाल राष्ट्र बैंकका सञ्चालक समेत रहेको चिन्तामणि शिवाकोटी नेतृत्वको अध्ययन समितिले नयाँ स्टक एक्सचेन्जलाई सञ्चालन अनुमति दिँदा न्यूनतम् चुक्ता पुँजी ३ अर्ब कायम गरेको हुनुपर्ने तथा यस्तो न्यूनतम् चुक्ता पुँजी बेला बेलामा नियामक निकायले तोके बमोजिम कायम गर्नुपर्ने सर्त तोक्नु पर्ने सुझाव दिएको छ । 

प्रतिवेदन अनुसार धितोपत्र बजार संचालन नियमावली २०६४ को नियम १२ को उपनियम (४) को व्यवस्थालाई समेत दृष्टि गत गरी विश्वका अन्य देशहरूमा संस्थागत रुपमा सुशासन कायम गरेका संगठित संस्था तथा विकसित धितोपत्र बजारलाई रणनीतिक साझेदारको रुपमा भित्राएको संस्थालाई अनुमतिमा प्राथमिकता दिने, नयाँ स्टक एक्सचेन्जको स्वामित्वमा विविधीकरण हुने गरी धितोपत्र विनिमय बजारमा विशेष अनुभव एवं व्यवसायीक रुपमा दक्ष संस्थाहरूको प्रवेशलाई अनुकूल हुने गरी दोस्रो बजार संचालन गर्नु पनि सुझाव दिएको छ । 

नयाँ अनुमति दिइने धितो पत्र बजारले पूर्ण स्वचालित सहितको अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भएको प्रविधि प्रयोग गर्न सक्ने क्षमता भएको सुनिधितता गराउनु पर्नेछ । कारोबार प्रणालीको गुणस्तर प्रभावकारिता, विश्वसनीयता तथा प्राविधिक पक्षको आधिकारिक निकायबाट परीक्षण गराउनुपर्नेछ । कारोबार संचालनको लागि मान्यता प्राप्त गरेको वा एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस, लगानीकर्ता एप्स सहितको अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको स्वचालित विद्युतीय कारोबार प्रणाली स्थापना गर्नुपर्नेछ ।

कारोबारको समयमै राफसाफका लागि सुदृढ राफसाफ कोष, अक्सन मार्केट, सेक्युरिटी बोरोइड लेन्डिंग तथा इन्ट्राडे ट्रेडिङ्गको समुचित व्यवस्था भएको आधुनिक, सशक्त सूचना प्रणालीको सुनिश्चितता भएको हुनुपर्नेछ । 

धितोपत्रको सूचीकरण, कारोबार राफसाफ तथा फछयौट एवं धितोपत्र व्यवसायीहरूको प्रभावकारी सुपरिवेक्षण गर्न सक्ने हुनुपर्नेछ । कुनै पनि समयमा आइपर्न सक्ने भवितव्य वा दुर्घटनाबाट तथ्याङ्ग नष्ट हुन नदिनको लागि महत्वपूर्ण सूचनाहरू सुरक्षित राख्न कम्तीमा छुट्टाछुट्टै भुकम्पकीय क्षेत्रमा सूचना भण्डारण केन्द्र स्थापना गरेको हुनुपर्नेछ । 

नयाँ स्थापना हुने स्टक एक्सचेन्जले हाल धितोपत्र बजारमा कारोबार भइरहेका परम्परागत उपकरणहरूको कारोबार संचालन गर्नुका साथै विकसित धितोपत्र बजारमा प्रचलनमा ल्याइएका नयाँ तथा वैकल्पिक उपकरणहरू धितोपत्र औजारहरूको समेत कारोबार गर्न सक्ने क्षमता हुनुपर्नेछ र लगानीकर्ता संरक्षण कोष राफसाफ कोष, अक्सन मार्केट सेक्यूरिटी लेन्डिङ्ग एण्ड बरोइ आदिको सुदृढ व्यवस्था न्यूनतम् रूपमा पूरा गर्नुपर्ने गरी आवश्यक पूर्वाधारको व्यवस्था तोक्न उपयुक्त हुने देखिन्छ ।

नयाँ स्टक एक्सचेन्ज धितोपत्र कारोबारमा संलग्न धितोपत्र व्यवसायीहरूको प्रभावकारी सुपरिवेक्षण गर्न सक्ने क्षमता भएको संस्था हुनुपर्नेछ । संघीय संरचना अवलम्बन गरेको परिप्रेक्ष्यमा नयाँ स्थापना हुने स्टक एक्सचेन्जले आफ्नो सेवालाई सबै स्थानीय तहका लगानीकर्ताले लगानी गर्ने भुक्तानी गर्ने फरफारकको सेवा प्राप्त गर्न सक्ने सुनिश्चितता हुने पर्याप्त आधार उपलब्ध गराउनुपर्नेछ । 

स्टक एक्सचेन्ज स्थापना गर्न चाहने कम्पनीको संस्थापक कम्पनीहरू नेपालको प्रचलित कम्पनी कानुन अनुसार लगानी गर्न योग्य रहेको हुनुपर्ने तथा नेटवर्थ सकारात्मक रहेको हुनुपर्नेछ ।

त्यस्तै, कुनै विदेशी स्टक एक्सचेन्जलाई रणनितिक साझेदार ल्याएको वा भविष्यमा ल्याउन सक्ने क्षमता भएको हुनुपर्नेछ । स्टक एक्सचेन्जले चुक्ता पुँजीको कम्तिमा ३० प्रतिशत साधारण सेयर सर्वसाधारणको लागि निस्काशन गर्ने प्रतिबद्धता गरेको हुनु पर्नेछ ।
 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...