शीर्षकहरू

शेयर कर्जा ३९ प्रतिशतले बढ्यो

शेयर कर्जा ३९ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा शेयर धितो कर्जा ३९.३ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तदेखि यता वैशाख मसान्तसम्ममा उक्त प्रकृतिको कर्जा ३९.३ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

गत असार मसान्तसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ यस  प्रकृतिको कर्जा विस्तार भएको थियो । वैशाख मसान्तसम्म आइपुग्दा १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ शेयर कर्जाको रुपमा विस्तार भएको छ । पछिल्लो १० महिना मात्रै ३५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ बढी शेयर कर्जा विस्तार भएको छ । 

एक करोड भन्दा माथिको कर्जा उच्च वृद्धि भएको छ । वैशाख मसान्तसम्म ८५ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ एक करोड माथिको कर्जाबाट विस्तार भएको छ । पछिल्लो १० महिनामा मात्रै २९ अर्ब ८० करोड ८० लाख रुपैयाँ बढी एक करोड माथिको कर्जा प्रवाह भएको छ । पछिल्लो १० महिनामा एक करोड माथिको शेयर कर्जा ५३.३ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउँछ । 

वैशाख मसान्तसम्म ५० लाख देखि एक करोडसम्मको कर्जा १ अर्ब ५० करोड ५० लाख, २५ लाख देखि ५० लाखसम्मको १ अर्ब ६६ करोड २६ लाख र २५ लाख रूपैयाँसम्मको ८ अर्ब १० करोड ४९ लाख रुपैयाँ रहेको छ । 

पछिल्लो १० महिनामा ५० लाख देखि १ करोडसम्मको कर्जा २१.१ प्रतिशतले वृद्धि भएकाे छ भने २५ देखि ५० लाखसम्मको कर्जा १५.३ प्रतिशतले बढेकाे छ । यसैगरी, २५ लाख भन्दा कमको कर्जा १०.८ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।