काठमाडौं । नेपाल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । बिहीबार कम्पनीको अन्तिम कारोबार मूल्य ७८२.८७ रुपैयाँ रहेको थियो । समायोजन पछि कम्पनीको शेयर मूल्य ६०६.६५ रुपैयाँ कायम भएको छ ।
कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर वितरण गर्ने घोषणा गरेको थियो । हकप्रद निष्काशन प्रयोजनको लागि जेठ ३० गते बुक क्लोज हुनेछ । अर्थात् आज जेठ २९ गतेसम्म कायम शेयरधनीले उक्त कम्पनीको बोनस शेयर पाउने छन् ।
कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत ६५ करोड ७६ लाख ९३ हजार ७ सय ७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९ सय ३७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। जेठ ७ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो । एनआईएम एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख रुपैयाँ छ । हकप्रद निष्काशन पछि चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।
नेपाल इन्स्योरेन्स निर्जीवन बीमा व्यवसाय प्रयोजनका लागि नेपाल बीमा प्राधिकरणबाट इजाजतप्राप्त कम्पनी हो । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै कम्पनीले हकप्रदको बाटो अपनाएको हो ।