काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा.रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय “बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल” गठन गरेको छ । कार्यदलमा भुवनकुमार दहाल सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहेका छन् ।
कार्यदलले बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा सुझाव दिनुपर्नेछ । यस्तै, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझाव, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा कार्यदलले सुझाव दिनुपर्नेछ । कार्यदललाई अध्ययनको लागि एक महिनाको समय दिईएको छ।