काठमाडौं । आइएमईको २५ औं वर्ष प्रवेशको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई लिमिटेडलाई रेमिट्यान्समा मात्र सिमित नराखेर अन्य विभिन्न क्षेत्रहरुमा पनि प्राथमिकता दिइएको बताए । आइएमई लिमिटेडको यो सम्भावना होला भनेर सुरुवाती चरणमा कसैले पनि नसोचेको भन्दै अहिले लोकप्रिय हुन सफल भएको बताए ।
उनले भने,‘आइएमई लिमिटेडलाई रेमिट्यान्समा मात्र सिमित नराखेर अन्य विभिन्न क्षेत्रहरुमा पनि प्राथमिकता दिइएको छ । सुरुवाती चरणमा आइएमई लिमिटेडको यस्तो सम्भावना होला भनेर कसैले सोचेको थिएन् । अहिले यति लोकप्रिय हुन सफल भएको छ ।’ आइएमईका संस्थापक अध्यक्ष समेत रहेका ढकालले त्यो बेला आइएमई सुरु गरेको अभियानका कारण अहिले नेपालको विदेशी मुद्रा भित्र्याउन वैधानिक बाटो बनेको बताए ।
त्यस्तै, सोहि कार्यक्रमलाई सम्बोधन गर्दै आइएमइको अध्यक्ष हेमराज ढकालले आइएमइ जन्मनुमा आफूहरुले जापानमा काम गर्दा देखेको समस्या समाधान गर्न सफल भएकोमा आइएमइको उद्देश्य पुरा भएको बताए । नेपालमा वैधानिक बाटोबाट रेमिट्यान्स ल्याउनका लागि नियामक निकायले गरेको सहयोगलाई पनि उनले धन्यावाद दिएका थिए ।