शीर्षकहरू

वित्तीय प्रणालीमा अधिक तरलताले चाप यथावत, २ खर्ब १५ अर्ब परिपक्क नहुँदै थप ४० अर्ब खिच्दै केन्द्रीय बैंक

वित्तीय प्रणालीमा अधिक तरलताले चाप यथावत, २ खर्ब १५ अर्ब परिपक्क नहुँदै थप ४० अर्ब खिच्दै केन्द्रीय बैंक

काठमाडौं ।  विगत लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन् । आर्थिक गतिविधि चलायमान नहुँदा कर्जा लगानी बढाउन नसकेपछि बैंकहरुले पनि अधिक तरलताको रकम अल्पकालीन उपकरणहरुमा लगानी गर्दै आएका छन् । अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न समेत कठिन भएको छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि ४२ दिनका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेकोे छ । बैंकहरुले निक्षेप संकलन उपकरणमा गत जेठ ११ गते राखेको ३० अर्ब परिपक्क भएपछि केन्द्रीय बैंकले थप ४० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट प्रशोचन गर्न लागेको हो । 

बैंकहरुले निक्षेप संकलन उपकरणमार्फत यस अघि जम्मा गरेको २ खर्ब १५ अर्ब ५५ करोड अझै परिपक्क हुन बाँकी छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति साउन ११ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

यसअघि केन्द्रीय बैंकले गत बुधबार ४० अर्ब रुपैयाँ बराबरको २१ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो । उक्त निक्षेप संकलन उपकरणमा २७ बैंक तथा वित्तीय संस्थाले ६६ अर्ब २५ करोड जम्मा गर्न चाहेका थिए । जसमध्ये राष्ट्र बैंकले मागेजति ४० अर्ब मात्र लिएको थियो । जसको औसत ब्याजदर २.९८ प्रतिशत कायम भएको थियो । 

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा हम्मेहम्मे हुन थालेको छ । अधिक तरलताका कारण बैंकहरुले एकआपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर ३ प्रतिशत पुगेको छ । अन्तरबैंकदर ३ प्रतिशतभन्दा तल झर्न नदिनका लागि राष्ट्र बैंकले नियमित रुपमा वित्तीय प्रणालीबाट रकम तानिरहेको छ । हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । चालु आर्थिक वर्ष सुरु भए यता निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले ८१ पटकमा २७ खर्ब ८४ अर्ब ८० करोड रुपैयाँ खिचेको छ । 
 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...