काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले उपभोक्ता र होलसेलर व्यापारीलाई नै बढी ऋण प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जामध्ये उपभोक्ता ऋणमा सबैभन्दा बढी १९ प्रतिशत प्रवाह भएको छ । त्यस्तै होलसेलर तथा रिटेलरमा १८ प्रतिशत कर्जा प्रवाह भएको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाले ५५ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्रमा कर्जा प्रवाह गर्दै आएका छन् । तर, कर्जाको माग र जोखिमको विश्लेषण गरी वित्तीय संस्थाले लगानी गर्दै आएका छन् । उसो त सरकारले उत्पादनका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । तर, बैंक तथा वित्तीय संस्थाले भने दैनिक उपभोग्य तथा विलासिताका वस्तुमा नै बढी कर्जा प्रवाह गरेका छन् । यस्ता खालको कर्जा प्रवाह गर्दा जोखिम कम हुन्छ । ‘यो सानो रकमको हुन्छ । कर्जा संकलन गर्न र प्रवाह गर्न पनि सहज हुन्छ’ बैंकरहरु बताउँछन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो १० महिनाको अवधिमा ११ खर्ब २ अर्ब ४७ करोड रुपैयाँ उपभोक्ता कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा सो क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रले नौ खर्ब ७८ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
होलसेलर तथा रिटेलर क्षेत्रमा १० खर्ब ४८ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ३.२८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १० खर्ब १५ अर्ब ६ करोड रुपैयाँ लगानी भएको छ ।
कृषि, वनजंगल वेभरेजसँग सम्बन्धी क्षेत्रमा कुल कर्जाको १७ प्रतिशत हिस्सा लगानी भएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार सो क्षेत्रमा नौ खर्ब ३९ अर्ब रुपैयाँ लगानी भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा भने १० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यो क्षेत्रमा ८ खर्ब ५० अर्ब रुपैयाँ लगानी भएको थियो ।
बैंक तथा वित्तीय क्षेत्रले खनिज र मत्स्यपालनसँग सम्बन्धित क्षेत्रमा कुल लगानीको ०.३० प्रतिशत लगानी गरेका छन् भने खनिजसँग सम्बन्धित क्षेत्रमा ०.२१ प्रतिशत लगानी गरेका छन् । केन्द्रिय बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा मत्स्यपालनसँग सम्बन्धित क्षेत्रमा १६ अर्ब ७४ करोड रुपैयाँ लगानी भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा २ प्रतिशतले अधिक हो । त्यस्तै, खनिजसँग सम्बन्धित क्षेत्रमा १२ अर्ब १४ करोड रुपैयाँ लगानी भएको छ ।
चालु आवको पहिलो १० महिनाको अवधिमा बैंक तथा वित्तीय क्षेत्रको कर्जा प्रवाह ८ प्रतिशत वृद्धि भएको छ ।