शीर्षकहरू

सामाजिक सुरक्षामा आबद्ध भएको एक वर्ष पुरा भएका श्रमिकले विदेशबाट जुनसुकै टेलिभिजन ल्याउन सक्ने

सामाजिक सुरक्षामा आबद्ध भएको एक वर्ष पुरा भएका श्रमिकले विदेशबाट जुनसुकै टेलिभिजन ल्याउन सक्ने

काठमाडौं । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकले विदेशबाट फर्कदा जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउन पाउने छन् । 

राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले श्रम स्वीकृति लिएर रोजगारीमा गएको, लगातार १२ महिना श्रम गरेको र सामाजिक सुरक्षा कोषमा आबद्ध भएको श्रमिकले कुनै पनि प्रकार साइजको टेलिभिजन ल्याउनु पाउनेछन् । तर, टेलिभिजन एक पटक मात्रै ल्याउन सकिनेछ।

कोषमा आबद्ध नभएका श्रमिकले भने विदेशबाट फर्कँदा ३२ इन्चसम्मको टेलिभिजन ल्याउँदा भन्सार छुट हुनेछ । तर, श्रमिकले अनिवार्य रुपमा श्रम स्वीकृति लिएको हुनुपर्नेछ।

यस्तै, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल ल्याउन पाउने छन् । 

कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भएमा मृतक श्रमिकले प्रयोग गरेको पुराना सबै किसिमका वस्तुहरु (सावरी साधन, हातहतियार, खरखजाना एवम् अन्य प्रतिबन्धित वस्तुहरू बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुनेछ । 

श्रमिकले आफुले प्रयोग गरेको लुगाफाटा, बरबिछयौन, घर गृहस्थीका पुराना वस्तु, औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि, शारिरीक रुपमा अशक्त यात्रुले साहाराको रुपमा प्रयोग गरेका वस्तु ल्याउन पाउँनेछन् ।

आफुले प्रयोग गरेको ट्याबलेट वा ल्यापटप वा डेस्कटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुर मोबाइल फोन एक/एक थान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक/एक थान ल्याउन सकिनेछ ।

पेशागत यात्रुले प्रयोग गरी ल्याएको आफनो पेशासँग सम्बन्धित वस्तुहरु एक/एक थान जस्तै, डक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको लागि फुटबल, भलिबल, व्याडमिन्टन सेट, क्रिकेट सेट, गायक तथा संगितकारको लागि गितार, हार्मोनियम, तलब जस्ता बस्तु ल्याउन सकिनेछ ।

नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोजनका टेलिभिजन, म्यूजिक सिस्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पङ्गा, रेडियो, घडी, सेलुलर मोबाइल फोन एक/एक थान ल्याउन सक्नेछन् ।

५० ग्रामसम्म सुनका गहन ल्याउन भन्सार नलाग्ने

विदेशबाट फर्कदा ५० ग्रामसम्मका सुनका गहन ल्याउँदा भन्सार लाग्नेछैन । सरकारले प्रकाशित गरेको राजपत्र अनुसार पुरुषको हकमा २५ ग्रामसम्म ल्याउन सकिनेछ । सो भन्दा बढी थप ५० ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार महसुल लाग्छ ।

सूचनामा सुनको हकमा भन्सार महसुल ऐन २०८१ को अनुसूची ४ को प्रकरण एक बमोजिम तोकिएको मात्रामा सुन र सुनका गहना ल्याउने उल्लेख गरेको छ । 

ऐन अनुसार पहिलो ५० ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुल तिरेर ल्याउन पाइन्छ । ५० ग्राम भन्दा बढी थप ५० ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुलका अतिरिक्त थप तीन प्रतिशत भन्सार तिरेर ल्याउन पाइन्छ ।

दोस्रो सीमा भन्दा बढी थप ५० ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार लाग्ने महसुलका अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्ने समेत ऐनमा उल्लेख छ ।

तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता वस्तुलाई भने गहनाको मान्यता नदिइने ऐनको प्रावधान छ । तोकिएको मात्रा भन्दा बढी सुन वा गहना ल्याएमा भने जफत हुने ऐनको प्रावधान छ ।

विदेशी यात्रुले साथमा ल्याउन पाउने पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनको गहना र एक सय ग्रामसम्म चाँदीका गहनाभन्दा बढी निजी प्रयोगका सुन तथा चाँदीका गहना पछि फिर्ता लैजाने गरी भन्सार कार्यालयमा घोषणा गरेमा त्यस्तो गहनाको मूल्यको २० प्रतिशत रकम धरौटी राखी ल्याउन दिइने छ ।

विदेश जानेले ५० हजार रुपैयाँसम्मका उपहार लैजान सक्ने

नेपाली नागरिक विदेश जाँदा उपहारको रुपमा ५० हजार रुपैयाँ मूल्यसम्मका वस्तुमा महसुल लाग्ने छैन । तर, मूल्य अभिवृद्धि कर लाग्ने वस्तुमा कर बीजक तथा मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुमा स्थायी लेखा नम्बर भएको बीजक पेश गरेमा मूल्यको सीमा बन्देज लागू हुने छैन ।

भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीले आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट, ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थानमा महसुल लाग्ने छैन । हवाईमार्ग वा स्थल मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले पाँच हजार अमेरिकी डलर बराबरको नेपालमा विनिमय हुने कुनै पनि विदेशी मुद्रा वा ट्राभल चेक साथमा ल्याउन पाउनेछ । सो भन्दा बढी ल्याउनु परेमा भन्सार विन्दुमा घोषणा गरी ल्याउन सक्नेछ ।