काठमाडौ. । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से आइतबार झिनो अंकले बढेको हो । आइतबार नेप्से परिसूचक ०.४७ अंक बढेर २६५५.८५ विन्दुमा पुगेको छ ।
नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार साढे १२ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आइतबार ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत बढेको छ। त्यस्ते, यस दिन व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।
यस दिन ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य सबैभन्दा धेरै ४.४३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । जसको ८९ करोड १ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र बुटवल पावर कम्पनीको उच्च कारोबार भएको छ ।