विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ सालको लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपियाँको वार्षिक राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ।कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले आइतबार कोशी प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन।
आगामी वर्षका लागि प्रस्तुत गरिएको अनुमानमध्ये चालु तर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगत तर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १० करोड अर्थात् ०.३ प्रतिशत रहेको छ।
यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको मन्त्री मगरले बजेट वक्तव्यमार्फत जानकारी दिए। प्रदेश सरकारले स्थानीय तहमा गर्ने वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ७० करोड ७२ लाख विनियोजन गरेको छ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि गर्न प्रस्ताव गरेको खर्च आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपूरक अनुदानबाट ३९ करोड १७ लाख, विशेष अनुदानबाट ५५ करोड ७२ लाख प्राप्त गर्ने जनाएको छ।
यस्तै राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३२ अर्ब ७४ करोड ७९ लाख र रोयल्टीबाट ३५ करोड ६ लाख रुपियाँ प्राप्त गर्ने मन्त्री रामबहादुर मगरले जानकारी दिनुभयो । बाँकी अपुग हुने रकम चालु वर्ष खर्च नभई बाँकी रहने नगद मौज्दातबाट ३ अर्ब १३ करोड व्यहोरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।
कोशी प्रदेश सरकारले ल्याएको बजेटमा पूर्वाधार विकासतर्फ १० अर्ब ५७ करोड, खानेपानी, सिंचाइ तथा उर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान र सामाजिकतर्फ २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यतर्फ ३ अर्ब ५१ करोड ७१ लाख, शान्ति सुरक्षाका लागि ९६ करोड विनियोजन गरेको छ ।