शीर्षकहरू

जीवन बीमा कम्पनीद्वारा ८७ अर्ब ९ करोड कर्जा वितरण, नियम विपरीत अभिकर्तालाई पनि कर्जा

जीवन बीमा कम्पनीद्वारा ८७ अर्ब ९ करोड कर्जा वितरण, नियम विपरीत अभिकर्तालाई पनि कर्जा

काठमाडौं । जीवन बीमा कम्पनीहरूले ८७ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो रकम गएको वर्षको तुलनामा करिब १९  प्रतिशतले बढी हो । बीमा कम्पनीहरूले आफ्ना कर्मचारी, बीमा अभिकर्ता र पोलिसी होल्डरलाई कर्जा प्रवाह गर्दै आएका छन् । 

जीवन बीमा कम्पनीहरूले वितरण गर्ने कुल कर्जाको करिब ९८ प्रतिशत हिस्सा बीमा पोलिसी धितो राखी लिने कर्जाको छ भने बाँकी हिस्सा कर्मचारी र अभिकर्ता कर्जाको छ । कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीहरूले एक अर्ब १५ करोड १४ लाख रुपैयाँ कर्मचारीको लागि कर्जा प्रवाह गरेका छन् । ७० करोड १० लाख रुपैयाँ अभिकर्ताका लागि कर्जा वितरण गरेका छन् भने ८५ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ बीमा पोलिसी धितो कर्जा वितरण गरेका छन् । 

नेपाल बिमा प्राधिकरणले बीमा पोलिसी धितो राखी लिन सक्ने कर्जाको व्यवस्था गरेको छ । बीमितले आफुले खरिद गरेको बीमा पोलिसी नै धितोमा राखी लिने कर्जालाई पोलिसी पोलिसी कर्जा भनिन्छ । बीमितले लगातार तीन वर्षसम्म बीमा पोलिसीको प्रिमियम भुक्तानी गरेपछि यस्तो खालको कर्जा लिन सक्नेछन् । 

कम्पनीले पोलिसी सरेण्डर मूल्यको ९० प्रतिशतसम्म पोलिसी धितो कर्जा प्रदान गर्छन् । बीमितले आवश्यक परेको समयमा आफ्नै पोलिसी धितो राखी कर्जा लिन सक्छन् । आफनै पोलिसी धितोमा राखी कर्जा लिन सकिने हुँदा कम्पनीमा यस्तो खालको कर्जाकाे माग अधिक हुने गरेको कम्पनीको दाबी छ । तर, ६ महिनासम्म पनि ब्याज भुक्तानी नगरेमा कम्पनीहरूले चक्रीय ब्याज लिने गरेका छन् । चक्रीय ब्याजका कारण बीमितहरुले कर्जा भुक्तानी गर्न नसकि पोलिसी ल्याप्स हुने गरेको पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले बताए । 

यस्तै, कम्पनीको विनियमावली अनुसार कम्पनीले आफ्ना कर्मचारीलाई कर्जा वितरण गर्न सक्ने प्राधिकरणका पूर्व कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । ‘कम्पनीले आफ्नो नियम अनुसार यस्तो कर्जा दिन सक्छन्,’ उनले भने । तर, प्राधिकरणले धितो राखी अभिकर्तालाई दिने कर्जालाई भने प्रतिबन्ध गरेको छ । कम्पनीहरूले कुनै पनि वस्तु वा समान धितोमा राखी अभिकर्तालाई कर्जा दिन पाउँदैनन् । ‘कुनै पनि धितो राखी अभिकर्तालाई कर्जा दिन पाईदैन,’  उनले भने । तर, व्यवसाय प्रवर्द्धनका लागि भने इन्सेन्टिभ दिन सक्छन् । 

तर, अस्वस्थ प्रतिस्पर्धाका कारण कम्पनीहरूले अभिकर्तालाई जथाभावी कर्जा वितरण गर्दै आएका छन् । कम्पनीले जथाभावी कर्जा वितरण गरेपछि प्राधिकरणले पत्र नै पठाएर कम्पनीहरूलाई कर्जा प्रवाह गर्न रोक लगाएको प्राधिकरणका पूर्व कार्यकारी निर्देशक पौडेलले बताए । ‘कम्पनीहरूले सवारी साधनहरु धितो राखी अभिकर्तालाई कर्जा दिएको पाइयो । चार वर्ष अघि हामीले कम्पनीलाई पत्र पठाएर यस्तो खालको प्रवृत्ति रोक्न भनेका थियौ,’ उनले भने । शायद अहिले यस्तो प्रक्रिया रोकिएको छ ।

हिमालयन, रिलायबल र प्रभुले बढाए कर्जा प्रवाह

कम्पनीहरूको तथ्यांक अनुसार हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कर्जा प्रवाह सबैभन्दा धेरै करिब दुई गुणा भन्दा धेरैले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ५ अर्ब ८६ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यो रकम अघिल्लो आवको सोही अवधिमा कम्पनीले दुई अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको तथ्यांकमा उल्लेख छ । 

कम्पनीले आव २०७९/८० मा १४ करोड ६१ लाख रुपैयाँ कर्मचारीलाई कर्जा वितरण गरेको छ । १४ करोड २१ लाख रुपैयाँ अभिकर्ता कर्जा र ५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ पोलिसी होल्डर कर्जा वितरण गरेको छ । 

यस्तै, रिलायबल नेपाल इन्स्योरेन्स कम्पनीले वितरण गर्ने कर्जा भने ७१ प्रतिशतले बढेको छ । कम्पनीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा ३६ करोड ६९ लाख रुपैयाँ कर्जा वितरण गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले २१ करोड ३९ लाख रुपैयाँ वितरण गरेको थियो । 

कम्पनीले कर्मचारीलाई ५ करोड १९ लाख रुपैयाँ कर्जा वितरण गरेको छ । अभिकर्तालाई एक करोड ७७ लाख रुपैयाँ कर्जा वितरण गरेको छ भने पोलिसी होल्डरलाई ३० करोड ३१ लाख रुपैयाँ कर्जा वितरण गरेको छ । 

कर्जा वृद्धि हुनेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी तेस्रोमा परेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ९४ करोड ३८ लाख रुपैयाँ कर्जा वितरण गरेको थियो । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५६ करोड ११ लाख रुपैयाँ कर्जा वितरण गरेको थियो । 

कम्पनीले आव २०७९/८० मा कर्मचारीलाई ५ करोड ८६ लाख रुपैयाँ कर्जा वितरण गरेको छ । अभिकर्तालाई एक करोड ९७ लाख रुपैयाँ कर्जा वितरण गरेको छ भने पोलिसी होल्डरको लागि ८७ करोड ४३ लाख रुपैयाँ कर्जा वितरण गरेको छ । 

धेरै कर्जा वितरण गर्नेमा नेपाल लाइफ, एलआईसी र नेशनल लाइफ अग्रपंक्तीमा

धेरै कर्जा वितरण गर्नेमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रपंक्तीमा रहेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा ३३ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ कर्जा वितरण गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलामा १० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले तीन अर्ब ११ करोड ७८ लाख रुपैयाँ कर्जा वितरण गरेको थियो । 

कम्पनीले कर्मचारीलाई ४६ करोड ४० लाख रुपैयाँ कर्जा वितरण गरेको छ । अभिकर्तालाई २० करोड ५ लाख रुपैयाँ र पोलिसी होल्डरलाई ३३ अर्ब ३९ करोड रुपैयाँ कर्जा वितरण गरेको छ ।

धेरै कर्जा वितरण गर्नेमा एलआईसी नेपाल दोस्रोमा परेको छ । कम्पनीले आव २०७९/८० मा २१ अर्ब ८८ करोड २१ लाख रुपैयाँ कर्जा वितरण गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । 

सो अवधिमा कम्पनीले कर्मचारी कर्जा ११ करोड १३ लाख रुपैयाँ वितरण गरेको छ । अभिकर्ता कर्जा ६ करोड ९३ लाख रुपैयाँ वितरण गरेको छ भने पोलिसी होल्डर कर्जा २१ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ वितरण गरेको छ । 

यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७९/८० मा १० अर्ब १५ करोड ५८ लाख रुपैयाँ कर्जा वितरण गरेको छ ।  अघिल्लो आवको तुलनामा यो रकम २६ प्रतिशतले बढी हो । कम्पनीले कर्मचारीलाई ५ करोड ३६ लाख रुपैयाँ कर्जा वितरण गरेको छ । अभिकर्ताको लागि १० करोड २८ लाख रुपैयाँ कर्जा वितरण गरेको छ भने पोलिसी होल्डरलाई १० अर्ब ४ करोड ४० लाख रुपैयाँ कर्जा वितरण गरेको छ । 

रकम रू हजारमा

null