काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम महिना असार लागेसँगै शेयर कारोबारमा तेजी आउन थालेको छ । सामान्यता असारदेखि असोजसम्मको समयलाई शेयर बजारको सिजनको रुपमा लिने गरिएको छ । यो समयमा कम्पनीहरुको वार्षिक वित्तीय विवरण प्रकाशनका साथै लाभांश समेत घोषणा गरिने भएकाले शेयर बजारको सिजनको रुपमा लिइने गरिएको छ ।
सूचकमा सामान्य बढोत्तरी भएपनि कारोबारमा तेजी आएकाले सिजन छोपेर लगानीगर्नेहरु क्रमश बजार प्रवेश गर्न थालेको संकेत देखिएको छ । जसले गर्दा दैनिक कारोबारमा बढोत्तरी आउन थालेको छ । पछिल्लो एक साता यताको कारोबार रकम पनि औसतमा १० अर्ब माथि नै रहेकाले पनि यसको पुष्टि गर्छ । सोमबार शेयर बजारमा करिब साढे ३ महिनायताकै उच्च कारोबार भएको छ । यस दिन कुल १३ अर्ब १८ करोडको कारोबार भयो । यो रकम फागुन १९ यताकै उच्च हो । अघिल्लो दिन जम्मा ११ अर्ब ४४ करोडको कारोबार भएको थियो ।
साथै लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी बढाउन थालेका छन् । केहिदिनदेखि जलविद्युतका कम्पनीमा झुम्मिएका लगानीकर्ता होटल तथा पर्यटन उपसमूहका कम्पनीहरुतर्फ मोडिएका छन् । सूचकमा उल्लेख्य सुधार नभएपनि कारोबारमा रकममा आएको सुधारले अल्पकालीन भन्दा पनि द्धिर्घकालीन लगानी बजारमा भित्रन थालेको संकेत देखिन्छ ।
सोमबार नेप्से परिसूचक जम्मा २.८० अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ०.४७ अंक बढेर बन्द भएको नेप्से २.८० अंक बढेर २६५८.६६ विन्दुमा पुगेको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन पियोर इनर्जी र पिपुल्स पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ । अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक साढे ७ प्रतिशत घटेको छ।
करोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९५ करोड १६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब साढे ९० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने बुटवल पावर कम्पनीको साढे ५८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।