शीर्षकहरू

बीमामा ‘क्यासब्याक’ मौलाएपछि प्राधिकरण उत्रियो एक्सनमा, अनुगमनलाई बनायो तिव्र

बीमामा ‘क्यासब्याक’ मौलाएपछि प्राधिकरण उत्रियो एक्सनमा, अनुगमनलाई बनायो तिव्र

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले ब्यापार हत्याउन गैरकानुनी हतकण्डा अपनाउन थालेपछि नियामक निकाय नेपाल बीमा प्राधिकरण एक्सनमा उत्रिएको छ । कम्पनीहरुले व्यवसाय हत्याउन ‘क्यासब्याक’ अफर वितरण गर्न थालेको पाइएपछि प्राधिकरणले टास्क फोर्स नै निर्माण गरी कम्पनीहरुको अनुगमनलाई तिव्र पारेको छ । 

बीमा प्राधिकरणका नियमन शाखा प्रमुख निर्देशक शाम्बराज लामिछानेका अनुसार प्राधिकरणले २२ दिन यता लघुबीमा कम्पनी सहित १४ वटा निर्जीवन बीमा कम्पनीको अनुगमन गरी सकेको छ । ‘अब चार वटा कम्पनीको अनुगमन गर्न बाँकी छ,’ उनले भने । बजारमा ‘क्यासब्याक’ को विकृती बढ्दै गएको सुचना पाएपछि प्राधिकरणले अनुगमनलाई तिव्र पारेको उनले बताए । कम्पनीको अनुगमन प्राधिकरणको नियमित प्रक्रिया हो । तर, यतिबेलाको अनुगमन ‘क्यासब्याक’ मा केन्द्रित रहेको उनले स्पष्ट पारे। 

कम्पनीहरुले ब्यापार पाउन बीमितहरुलाई क्यासब्याकको अफर गर्ने गरेको र क्यासब्याक वितरण गर्ने गरेको प्राधिकरणले जनाएको छ । जुन गैरकानुनी हो । कम्पनीहरुले बीमितहरुलाई क्यासब्याकको अफर गर्ने र क्यासब्याक वितरण गर्ने गरेको थाहा पाएपछि प्राधिकणले टास्क फोर्स नै बनाएर अनुगमन गर्न सुरु गरेको प्राधिकरणका एक अधिकारीले बताए। 

कस्तो छ टास्क फोर्सको संरचना ?

एक जना उपनिर्देशकको संयोजकत्वमा हरेक दिन एक, दुई वटा कम्पनीमा अनुगनका लागि टास्क फोर्स बनाइएको छ । जसमा संयोजकका रुपमा एक जना उपनिर्देशक र २ देखि ४ जना सहायक निर्देशक रहन्छन् । दिनमा २/३ वटा टास्क फोर्स टोली बीमा कम्पनीहरुमा खटाईन्छ। 

उनीहरुले कम्पनीमै गएर कम्पनीहरुले कुन कुन फोर्टफोलियोमा कति रकमसम्म क्यासब्याक दिने गरेका छन् भन्ने अनुगमन गरिएको छ । उक्त टास्क फोर्सको परिचालन प्राधिकरणको नियमन महाशाखाले गरेको छ । नियमन महाशाखाको प्रत्यक्ष निगरानिमा टास्कफोर्स टोली रहन्छन्। 

टास्कफोर्समा सोही महाशाखाका कर्मचारीहरुलाई खटाइन्छ । कुनै कुनै दिन सो महाशाखाका कर्मचारीले पनि नभ्याउने अवस्थामा अन्य महाशाखाका कर्मचारीलाई पनि खटाइने गरिएको प्राधिकरणका एक अधिकारीले बताए । 

निर्जीवन बीमा कम्पनीमा मौलाएको गैरकानुनी क्यासब्याक के हो ? 

सम्पतिको बीमा गर्दा कम्पनीले निश्चित दर रेट तोकेका हुन्छन । कम्पनीले तोकेको दर अनुसार बीमितले बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा यस्तो दर रेट नियामक निकाय प्राधिकरणले नै निर्धारण गरी दिएको हुन्छ । प्राधिकरणले तोकेको अवस्थामा कम्पनीहरुले सोही दर रेट अनुसार सम्पतिको बीमा गर्नुपर्ने हुन्छ । कम्पनीहरुले सो दर रेटभन्दा घटाएर बीमा गर्न पाउँदैनन् । तर, व्यवसाय हत्याउनका लागि कम्पनीहरुले अप्रत्यक्ष रुपमा प्राधिकरणले तोकेको दर रेट भन्दा पनि कम रेटमा बीमा गर्न थालेका छन्। 

दर रेट घटाउँदा प्राधिकरणको नजर पर्ने हुँदा कम्पनीहरुले क्यासब्याक अफर दिएर बीमा गर्न थालेका छन् । क्यासब्याक अफर भनेको अप्रत्यक्ष रुपमा बीमाको रेट घटाउनु हो । कतिपय कम्पनीले आधा नै क्यासब्याक दिने गरेको बीमा कम्पनीका कर्मचारीहरु नै बताउँछन्। 

कम्पनीहरुले छुट भन्दै नगद फिर्ता वा अन्य जिन्सी सामान वितरण गर्ने गरेको एक कम्पनीका कर्मचारीले बताए । मानौ दुई पांग्रे सवारीको तेस्रोपक्ष बीमाशुल्क एक हजार १७५० रुपैयाँ रहेको छ । पोलिसी काटदा कम्पनीहरुले एक हजार १७५० रुपैयाँमै  काटछन् । तर सो मोटरसाईकल धनीलाई १०० देखि २०० रुपैयाँसम्म छुट भन्दै नगद फिर्ता वा अन्य कुनै उपहार दिन्छन् । प्रत्यक्ष रुपमा सो पोलिसीको मूल्य एक हजार १७५० नै परेपछि छुट वा उपहार मार्फत रकम फिर्ता गर्दा पोलिसीको रकम वास्तविक मूल्य भन्दा कम हुन्छ । जसलाई क्यासब्याक भनिन्छ। 

निर्जीवन बीमा कम्पनीले आफना सेवाग्राहीलाई मात्रै हैन । अन्य कम्पनीका सेवाग्राहीलाई पनि क्यासब्याकको प्रलोभन देखाएर आकर्षित गर्ने गरेको कम्पनीका कर्मचारीहरु बताउँछन् । यो बीमा कम्पनीहरुको एक प्रकारको विकृति हो । यसले अस्वश्य प्रतिस्पर्धा बढ्ने, बीमा कम्पनीहरुको ब्यापर र नाफा घट्ने गर्दछ । 

यस प्रकारको विकृती विषेशगरी सामुद्रिक बीमा, ईन्जिनियरिङ तथा निर्माण कार्यको बीमा, मोटर बीमा लगायत पोर्टफोलियोमा हुने गरेको छ । यसैगरी, मोटर तेस्रो पक्ष बीमामा समेत यस प्रकारको विकृति मौलाएको कम्पनीकै दाबी छ । 

मोटर तेस्रो पक्ष बीमा पुल प्रणालीमा सञ्चालन भइरहेको छ । अर्थात् सबै निर्जीवन बीमा कम्पनीहरुले सो बीमा वापतको रकम एउटा बास्केटमा राख्ने अनि व्यापारको अनुपात र समानताका आधारमा वितरण गरिएको छ । यस अवस्थामा धेरै व्यपार गर्नेको हिस्सा पनि कम व्यापार गर्नेलाई बाढिन्छ । यस प्रकारको बीमामा पनि क्यासब्याक विकृती देखिएपछि प्राधिकरणले अनुगमनको कार्यलाई तिव्रता दिएको हो ।