काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज फेरि ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले ३५ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो।
केन्द्रीय बैंकले गत जेठ १४ गते खिचेको ८० अर्ब आजै परिपक्क भएपछि थप ९० अर्ब खिच्न लागेको हो । रेमिटेन्समा आएको बढोत्तरीले बैंकिङ प्रणालीमा निरन्तर निक्षेप बढेपनि सोही अनुपातमा कर्जा लगानी हुन नसक्दा वित्तीय प्रणालमिा अधिक तरलताको समस्या आएको कायमै रहेको छ । चालु आवको वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब रेमिटेन्स भित्रिएको थियो ।
केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो ३ बजे अनलाइन बोलकबोल हुने जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको चैत २४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
यस अघि राष्ट्र बैंकले गत आसर १ गते ४२ दिनका लागि ४० अर्ब निक्षेप संकलन गरेको थियो । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो । हालसम्म निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले खिचेको १ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँ परिपक्क हुन बाँकी छ ।
बाह्य अर्थन्तत्र सुदृढ भएपनि आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्न सकेको छैन । जसले गर्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । रेमिटेन्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । निक्षेप बढे बमोजिम कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएको हो।