काठमाडौं । नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सरोकारवालासँग सुझाब माग गरेको छ । कार्यदलले इच्छुक संस्था तथा व्यक्तिलाई आफ्नो अनुभव र विज्ञताका आधारमा २०८२ असार ११ गतेसम्म इमेल मार्फत सुझाव पेश गर्न अनुरोध गरेको हो ।
राष्ट्र बैंकले विभिन्न ६ वटा विषयमा केन्द्रित रहेर बैंकिङ क्षेत्र सुधारका लागि सुझाव दिन कार्यदल गठन गरेको छ । राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा.रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय “बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल” गठन गरेको हो । कार्यदलमा भुवनकुमार दहाल सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहेका छन् ।
सो कार्यदलले बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा अध्ययन गर्ने छ । यस्तै आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा अध्ययन गर्ने छ ।
ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा अध्ययन गर्ने छ ।
यस्तै नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा अध्ययन गर्ने छ ।
यस्तै, बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा कार्यदलले सुझाव दिनुपर्नेछ । कार्यदललाई अध्ययनको लागि एक महिनाको समय दिईएको छ।