शीर्षकहरू

एकवर्षमा प्रवाह भएको कर्जामा ग्लोबल आइएमईको हिस्सा सबैभन्दा धेरै, एनआईसी एशियाको कर्जा-निक्षेप दुवै घट्यो

एकवर्षमा प्रवाह भएको कर्जामा ग्लोबल आइएमईको हिस्सा सबैभन्दा धेरै, एनआईसी एशियाको कर्जा-निक्षेप दुवै घट्यो

काठमाडौं। संचालनमा रहेका वाणिज्य बैंकहरुले पछिल्लो एक वर्षमा ४ खर्ब बढी कर्जा विस्तार गरेका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८१ जेठको तुलनामा २०८२ जेठसम्म आइपुग्दा २० वाणिज्य बैंकहरुले थप ४ खर्ब ५ अर्ब कर्जा विस्तार गरेका हुन । 

पछिल्लो एक वर्षमा विस्तार भएको कर्जामा ग्लोबल आइएमई बैंकको हिस्सा सबैभन्दा धेरै १२.७५ प्रतिशत रहेको छ । यो बैंकले गएको एक वर्षमा थप ५१ अर्ब ६५ करोड कर्जा विस्तार गरेको छ । गत जेठ मसान्तसम्म ग्लोबल आइएमई बैंकले ५ खर्ब ५४ अर्ब २९ करोड निक्षेप संकलन गरेर ४ खर्ब ४१ अर्ब ४२ करोड कर्जा लगानी गरेको छ । पछिल्लो एक वर्षमा बैंकमा ६० अर्ब ३१ करोड निक्षेप थपिएको देखिन्छ ।

नेपाल बैंकर्स संघका अनुसार यस अवधिकमा ३ वाणिज्य बैंकको कर्जा प्रवाह घटेको छ । एनआईसी एशियाको सबैभन्दा धेरै ४४ अर्ब २ करोडले कर्जा घटेको छ । यस्तै कुमारी बैंकको ५ अर्ब ७९ करोड तथा प्रभु बैंकको कर्जा २५ करोड रुपैयाँले घटेको देखिन्छ । कर्जा विस्तार गर्नेको दोस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । जसले पछिल्लो एक वर्षमा ४५ अर्ब ६२ करोड थप कर्जा विस्तार गरेको छ । तेस्रो स्थानमा रहेको नबिलले ३९ अर्ब ९३ करोड थप कर्जा प्रवाह गरेको छ । सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्डको कर्जा ३ अर्ब ५० करोडले मात्र बढेको छ ।

तथ्यांकअनुसार २०८१ जेठको तुलनामा २०८२ जेठसम्म आइपुग्दा २० वाणिज्य बैंकहरुले ७ खर्ब १९ अर्ब ७८ करोड थप निक्षेप संकलन गर्दा ४ खर्ब ५ अर्ब ९ करोड थप कर्जा विस्तार गरेका छन्। २०८२ जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले कु्ल ६२ खर्ब ५८ अर्ब १६ करोड निक्षेप संकलन गरेका छन् भने सोही अवधिसम्म ४९ खर्ब ४७ अर्ब २० करोड कर्जा लगानी गरेका छन् । २०८१ जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले कु्ल ५५ खर्ब ३८ अर्ब ३८ करोड निक्षेप संकलन गरेर ४५ खर्ब ४२ अर्ब १० करोड कर्जा लगानी गरेका थिए । 

एनआईसी एशिया बाहेक सबैको निक्षेप बढ्यो

वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलनमा एनआईसी एशिया कमजोर देखिएको छ । यो बैंकको निक्षेप पछिल्लो १ वर्षमा मात्रै ४६ अर्ब ५४ करोडले घटेको छ । यस अवधिमा बैंकको कर्जा पनि ४४ अर्ब २० करोडले खुम्चिएको छ । एनआईसी एशियाको निक्षेप ३ खर्ब ४८ अर्बबाट ३ खर्ब २ अर्बमा तथा कर्जा २ खर्ब ८४ अर्बबाट २ खर्ब ३९ अर्बमा खुम्चिएको छ । 

यसअवधिमा सबैभन्दा धेरै निक्षेप नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा थपिएको छ । २०८१ जेठ मसान्तको तुलनामा २०८२ जेठ मसान्तसम्म आइपुग्दा यस बैंकमा ७० अर्ब ६३ करोड निक्षेप थपिएको देखिन्छ । तर बैंकले यस अवधिमा थप २७ अर्ब ८४ करोड मात्र कर्जा प्रवाह गरेको छ । बैंकले हालसम्म ४ खर्ब ६७ अर्ब निक्षेप संकलन गरेर ३ खर्ब ५६ अर्ब कर्जा लगानी गरेको छ । 

निक्षेपमा ग्लोबल आइएमई बैंक अब्बल देखिएको छ । यस बैंकले गत जेठ मसान्तसम्ममा ५ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । दोस्रो उच्च निक्षेप रहने नबिल बैंकको निक्षेप पनि ५ खर्ब १३ अर्ब पुगेको छ । यस अवधिमा नबिलले ४ खर्ब २९ अर्ब कर्जा लगानी गरेको छ । ग्लोबल आइएमई र नबिलको निक्षेप मात्रै ५ खर्ब माथि रहेको छ । 

अन्य दुई बैंकहरुले पनि ४ खर्ब माथि निक्षेप संकलन गरेका छन् । यस अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले ४ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा राष्ट्रिय वाणिज्य बैंकले पनि ४ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । सबैभन्दा कम निक्षेप थपिनेमा पनि स्ट्याण्डर्ड चार्टर्ड नै रहेको छ । यो बैंकमा १२ अर्ब ८५ करोड निक्षेप थपिएको छ । 

null