काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सुन चाँदी धितोमा राखी ७६ अर्ब ४५ करोड ६ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनाको अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले ५५ खर्ब २६ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आव २०८०/८१ को सोही अवधिको तुलनामा सुन चाँदी धितोमा राखी प्रवाह गरिने कर्जा ३७ प्रतिशतले वृद्धि भएको छ । साे अविधमा बैंक तथा वित्तीय संस्थाहरूले सुन चाँदी धितोमा राखी ५५ अर्ब ७३ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए।
सुन र चाँदी जस्ता बहुमूल्य धातुहरूको बजार मूल्य प्राय स्थिर हुन्छ । समयसँगै यस्ता वस्तुको मूल्य खस्किँदैन । त्यसैले बैंक तथा वित्तीय संस्थाले सुन चाँदीलाई सुरक्षित धितोको रुपमा लिन गरेका छन् । यस्तो धितोमा आर्थिक जोखिम पनि कम हुन्छ ।
यस्तै, सुन चाँदी सुरक्षित स्थानमा भण्डारण गर्न सकिन्छ र यसको चोरी वा नोक्सानीको जोखिम पनि कम हुन्छ । सुन र चाँदीको मूल्य सबै देशमा प्राय ः मान्यता प्राप्त हुन्छ । यसैले पनि बैक तथा वित्तीय संस्थाले सुन चाँदीलाई धितोको रुपमा स्वीकार गर्छन् ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आवको वैशाख महिनासम्ममा सुन चाँदी धितोमा राखी बाणिज्य बैंकहरुले ७० अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंकले ५ अर्ब १० करोड र वित्त कम्पनीहरूले ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
केन्द्रीय बैंक तथ्यांक अनुसार चालु आवको पहिलो १० महिनाको अवधिमा नेपाल बैंकले सुन चाँदी धितोमा राखी ३२ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राष्ट्रिय बाणिज्य बैंकले २५ अर्ब १९ करोड, नबिल बैंकले एक अर्ब ३९ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब २६ करोड प्रवाह गरेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।
यस्तै, एनआईसी एशिया बैंकले एक करोड ५७ लाख, माछापुच्छ्रे बैकले २३ करोड ६८ लाख, कुमारी बैंकले ४८ लाख, लक्ष्मी बैंकले ६९ करोड ८३ लाख, सिद्धार्थ बैंकले एक करोड ३० लाख, कृषि विकास बैंकले एक करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
सिटिजन्स बैंकले ७२ करोड १३ लाख, प्राइम बैंकले ७ अर्ब २६ करोड, एनएमबिले ३ लाख, प्रभु बैंकले ६९ लाख रुपैयाँ सुन चाँदी धितोमा राखी कर्जा प्रवाह गरेका छन् । तर, सानिमा बैंक, ग्लोबल बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक र एभरेष्टले भने सुन चाँदी धितो कर्जा प्रवाह गरेका छैनन् ।
बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा सबैभन्दा बढी सुरक्षित धितो सम्पतिलाई मान्ने गरेका छन् । केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो १० महिनाको अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाले सम्पति धितोमा राखी ४९ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो रकम बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ८९ प्रतिशत हो । गत आवको तुलनामा सम्पति धितो राखी दिइने कर्जाको ७ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ४५ खर्ब ६६ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैँकले ऋणीको चल र अचल दुवै खालको सम्पत्तिलाई धितोको रुपमा स्वीकार गर्ने गरेको छ ।
समीक्षा अवधिमा बाणिज्य बैंकहरुले सम्पति धितोमा राखी ४३ खर्ब ७६ करोड रुपैयाँ कर्जा प्रदान गरेका छन । विकास बैंकहरुले चार खर्ब ५० अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वित्त कम्पनीहरुले भने ८६ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस्तै, सरकारी धितोपत्र धितोमा राखी बैक तथा वित्तीय संस्थाहरूले ४ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रदान गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा ४६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले तीन अर्ब १६ करोड रुपैयाँ कर्जा प्रदान गरेका थिए ।
गैरसरकारी धितोपत्र धितोमा बैंक तथा वित्तीय संस्थाहरूले एक खर्ब १७ अर्ब २६ करोड कर्जा प्रवाह गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा ६५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ७० अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
बैंक तथा वित्तीय संस्थाहरूले मुद्धती खातामा राखिएको रकमको रसिदको आधारमा ३७ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रदान गरेका छन् । यो रकम गत आवको तुलनामा भने ५ प्रतिशतले घटेको छ । बैंकहरुले गत आवको सोही अवधिमा यस्तो रसिद धितोमा राखी ४० अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
बैंकले आफनै बैकको मुद्धतीमा खातामा राखिएको रकमलाई पनि धितोको रुपमा लिने गरेका छन् भने अन्य वित्तीय संस्थामा रहेको मुद्दती खाताको रकमलाई पनि धितोको रुपमा स्वीकार गर्ने गरेका छन् ।
विनिमय पत्र धितोमा राखी बैंक तथा वित्तीय संस्थाहरूले ४८ अर्ब ७६ करोड कर्जा प्रवाह गरेका छन् । ग्यारेन्टी धितोमा राखी एक खर्ब ७९ अर्ब, क्रेडिट कार्ड धितोमा राखी ६ अर्ब ४५ करोड बैंकहरुले कर्जा प्रवाह गरेका छन् । बैंकहरुले आन्तरिक वा वैदेशिक दुवै खालको विनिमय पत्रलाई धितोको रुपमा स्वीकार गर्ने गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा सुरक्षित गर्न ऋणीबाट जमानत लिने गर्छन् । जसलाई धितो मानिन्छ । ऋणीले कर्जा भुक्तानी नगरेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले जमानत वा धितोको राखेको सम्पति वा वस्तुलाई विक्री गरी आफ्नो ऋण असुल गर्छन् ।