काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने निक्षेप भन्दा कर्जा प्रवाह बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययनको अर्ध–बार्षिक प्रतिवेदन अनुसार निक्षेपको तुलनामा कर्जा प्रवाह अधिक देखिएको हो ।
प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले एक खर्ब ४४ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । सोही अवधिमा एक खर्ब ५३ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
२०८१ पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा ३.१३ प्रतिशतले घटेर १ खर्ब ४४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १.९१ प्रतिशतले बढेको थियो । २०८१ पुस मसान्तसम्म कुल निक्षेप अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने ७ अर्ब ९६ करोड रूपैयाँले बढेको छ ।
२०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०८१ असार मसान्तको तुलनामा ०.२७ प्रतिशतले वृद्धि भएर १ खर्ब ५३ अर्ब २६ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ७.२८ प्रतिशतले घटेको थियो । २०८१ पुस मसान्तसम्म प्रदेशमा प्रवाहित कुल कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने १२ अर्ब ६० करोड रूपैयाँले बढेको छ ।
गाउँमा अझै पुगेनन् बैंक
सरकारले सबै नागरिकमा वित्तीय पहुँच सहज बनाउने भनेपछि अझै पनि गाउँमा बैंक तथा वित्तीय संस्थाहरू पुग्न सकेका छैनन् । शहरी क्षेत्रमा मात्रै बैंक तथा वित्तीय संस्था केन्द्रितले ग्रामीण नागरिकले बैंकिङ्ग सेवा उपभोग गर्न पाएका छैनन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको तथ्यांक अनुसार नौ जिल्लामध्ये ६८ प्रतिशत कर्जा कैलाली जिल्लामा मात्रै प्रवाह भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा कैलाली जिल्लामा एक खर्ब पाँच अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
सोही अवधिमा कञ्चनपुर जिल्लामा भने २९ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो रकम सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको कुल कर्जाको १९.५१ प्रतिशत हो । डडेल्धुरामा ४ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो रकम कुल कर्जा रकमको २.८२ प्रतिशत हो । अन्य जिल्लाको हिस्सा भने २ प्रतिशत भन्दा कम छ ।
यस्तै, समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश पनि सबैभन्दा बढी अर्थात् ४८.६० प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.२७ प्रतिशत रहेको छ ।
चालु आवको पुस महिनासम्ममा कैलालीमा ७० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । कञ्चनपुर जिल्लामा भने ३४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यो रकम कुल संकलन भएको निक्षेप रकमको २३.८४ प्रतिशत हो । बाजुरा जिल्लामा सबैभन्दा कम तीन अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन भएको छ ।
समीक्षा अवधिमा सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैँकका ३२९, विकास बैँकका ५२, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४७१ गरी जम्मा ८५८ शाखा सञ्चालनमा छन् । यसमध्ये कैलाली जिल्लामा सबैभन्दा बढी ३६६ तथा बाजुरा जिल्लामा सबैभन्दा कम २८ शाखा सञ्चालनमा छन् । गत वर्ष सोही अवधिमा यस प्रदेशमा वाणिज्य बैंकका ३२६, विकास बैंकका ५२, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४६२ गरी जम्मा ८४६ वटा बैंक तथा वित्तीय संस्थाका शाखाहरू सञ्चालनमा रहेका थिए ।
निक्षेपकर्ता ३.२६ प्रतिशतले बढ्दा ऋणी २७ प्रतिशतले बढे
वित्तीय समावेशीता तथा विविध कर्जा २०८१ पुस मसान्तसम्म कुल निक्षेपकर्ताको संख्या २०८० पुस मसान्तको तुलनामा ३.२६ प्रतिशतले बढेर ३७ लाख ५४ हजार ९ सय ९० पुगेको छ । कुल ऋणीको संख्या गत पुस मसान्तको तुलनामा २७.५६ प्रतिशतले बढ्न गई १ लाख ४ हजार १ सय ९३ पुगेको छ ।
२०८१ पुस मसान्तसम्म विपन्न वर्गको कर्जा २०८० पुस मसान्तको तुलनामा २३.३६ प्रतिशतले घट्न गई ८ अर्ब ४९ करोड पुगेको छ । यसैगरी, २०८१ पुस मसान्तसम्म सहुलियतपूर्ण कर्जा २०८० पुस मसान्तको तुलनामा ६५.३१ प्रतिशतले घट्न गई ३ अर्ब ६० करोड ९६ लाख पुगेको छ ।
तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला बाहेक अन्य नोटकोषहरुमा नेपाल राष्ट्र बैंक धनगढी कार्यालयबाट कुल २ अर्ब ९४ करोड फण्ड ट्रान्सफर भएको छ । गत वर्षको सोही अवधिमा यस प्रदेशमा रहेका नोटकोषहरुमा ३ अर्ब ७५ करोड फण्ड ट्रान्सफर भएको थियो । समीक्षा अवधिमा यस कार्यालयबाट सबैभन्दा धेरै बैतडी जिल्लामा ६४ करोड ८४ लाख फण्ड ट्रान्सफर भएको थियो । समग्रमा प्रदेशमा समीक्षा अवधिमा भएको फण्ड ट्रान्सफर रकममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.३९ प्रतिशतले कमी आएको तथ्यांकले देखाएको छ ।