काठमाडौं । मधेश प्रदेशका उद्योगहरुको क्षमता उपयोगमा गिरावट आएको छ । मधेश प्रदेशका नमुना छनौटमा समेटिएका उद्योगहरुको क्षमता उपयोग औसतमा २७.६६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले गरेको मधेश प्रदेशको अर्ध वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ८०-८१ को पुसम्मसम्म मधेश प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग २९.६० रहेको थियो । जुन आर्थिक वर्ष ८१-८२ को पुससम्ममा २७.६६ प्रतिशतमा झरेको हो । समीक्षा अवधिमा पेय पदार्थ उद्योगले सबैभन्दा बढी ८१.५१ प्रतिशत क्षमता उपयोग गरेको पाइएको छ । त्यस्तै लत्ता कपडा उद्योगको क्षमता उपयोग सबैभन्दा कम ६.६४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा तोरीको तेल उद्योगको क्षमता उपयोग ५२.११ प्रतिशत, भटमासको तेल उद्योगको क्षमता उपयोग ३३.३९ प्रतिशत, पशु दाना उद्योगको क्षमता उपयोग ४५.९० प्रतिशत, धागो उद्योगको क्षमता उपयोग ३०.१७ प्रतिशत, चामल उद्योगको क्षमता उपयोग २८.४९ प्रतिशत रहेको छ ।
लत्ता कपडा अन्तर्गतको सिन्थेटिक कपडा, चुरोट, चिनी, प्रशोधित छाला, कागज (अखबारी कागजबाहेक) रड्राई सिरप उद्योगको क्षमता उपयोग क्रमशः ६.४० प्रतिशत, १९.६४ प्रतिशत, ९.८६ प्रतिशत, ३५.५७ प्रतिशत, ११.२६ प्रतिशत, ३.९३ प्रतिशत रहेको छ ।
गत वर्षको सोही अवधिमा तोरीको तेल उद्योगको क्षमता उपयोग ४५.६५ प्रतिशत, भटमास तेल उद्योगको क्षमता उपयोग २०.३१ प्रतिशत, पशु दाना उद्योगको क्षमता उपयोग ३४.८१ प्रतिशत, धागो उद्योगको क्षमता उपयोग ३५.१७ प्रतिशत, चामल उद्योगको क्षमता उपयोग ४८.३३ प्रतिशत रहेको छ थियो ।
त्यस्तै, लत्ता कपडा अन्तर्गतको सिन्थेटिक कपडा, चुरोट, चिनी, प्रशोधित छाला, कागज (अखबारी कागजबाहेक) र ड्राई सिरप उद्योगको क्षमता उपयोग क्रमशः ४.९८ प्रतिशत, २०.४९ प्रतिशत, ७.३३ प्रतिशत, २१.५२ प्रतिशत, ९.५६ प्रतिशत, २.८० प्रतिशत रहेको थियो।
औद्योगिक कर्जा स्थिति
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा १०.९९ प्रतिशतले बढेको छ । आ.व.०८१-८२ पुससम्म बैंकहरुले १ खर्ब २५ अर्ब १३ करोड औद्योगिक कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब १२ अर्ब ७४ करोड रहेको थियो।
समीक्षा अवधिमा मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा ६६.३३ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा २.२० प्रतिशत रहेको छ । मधेश प्रदेशमा सबैभन्दा धेरै उद्योगहरू पर्सा जिल्लामा रहेकोले सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह उतm जिल्लामा भएको देखिन्छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा १ खर्ब २५ अर्ब १३ करोडमध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५८.९५ प्रतिशत, कृषि-वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३०.१६ प्रतिशत, निर्माण उद्योगतर्फ ५.४४ प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादनतर्फ ४.१३ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ ०.५४ प्रतिशत र खानी उद्योगतर्फ ०.७७ प्रतिशत कर्जा प्रवाह भएको छ ।
मधेश प्रदेशका सम्पूर्ण भू-भाग समतल रहेकोले यातायात तथा ढुवानीको सहजता रहेको छ। साथै दक्षिण तर्फको सीमा भारतसँग जोडिएकोले निकासी बजारको समेत अवसर छ । तसर्थ, यस प्रदेशमा उद्योग स्थापना गरी सञ्चालन गर्न, उत्पादित सामान निकासी गर्न र देशैभर पु¥याउन सहज रहेको राष्ट्र बैंकको भनाई छ ।
मधेश प्रदेश भारतको सीमावर्ती क्षेत्रमा भएकाले भारतको ठूलो बजारमा व्यापार र उद्योग विस्तारका लागि सम्भावना रहेको छ । कृषिजन्य उत्पादन प्रचुर मात्रामा हुने भएकाले कृषिमा आधारित उद्योग (जस्तैः चिनी उद्योग, खाद्य प्रशोधन, तेल उद्योग) स्थापना गर्ने राम्रो सम्भावना रहेको अध्ययनले देखाएको छ । मुलुकको सबैभन्दा बढी जनघनत्व र बढी जनसंख्या भएको प्रदेश भएकोले सस्तो श्रम आपूर्ति हुनेहुँदा मधेश प्रदेशमा उद्योगहरू स्थापना गरी उत्पादन बढाएमा उत्पादित वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमता बढ्न गई कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढ्न सक्ने देखिन्छ ।
मधेश प्रदेशको सम्पूर्ण भू-भाग दक्षिणी सीमा भारतसँग खुलारुपमा जोडिएकोले भारतबाट आयात हुने औद्योगिक कच्चा पदार्थको ढुवानी लागत सस्तो हुने भएकोले कम लागतमा वस्तु उत्पादन गरी निकासी गर्न सक्ने सम्भावना रहेको छ । धान, गहुँ, मकै जस्ता अन्न बालीको प्रशस्त उत्पादन हुनुको साथै सुगम भौगोलिक संरचना रहेकोले यो प्रदेशमा खाद्य प्रशोधन उद्योगहरूको राम्रो सम्भावना रहेको राष्ट्र बैंकको भनाई छ ।